काठमाडौं । नेपालका २ वटा हिमाल आरोहरणका लागि बहराइनका राजकुमारसहितको टोली काठमाडौं आइपुगेको छ ।
बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली बुधबार बिहान ११ बजेतिर काठमाडौंमा आइपुगेको हो ।
ईशा एयरवेजको विशेष विमानबाट उक्त टोली नेपाल आइपुगेको हो । टोलीमा राजकुमारसहित बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेका छन् ।
काठमाडौं उड्नु अगाडि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले बिदाइ गरेको थियो ।
उनीहरु चढेको जहाज बहराइनबाट राति १२ः३० बजे काठमाडौंका लागि उडेको थियो । बहराइनस्थित नेपाली दूतावासका अनुसार यो टोली नेपाली हिमाल आरोहणका लागि २ महिना नेपाल बस्ने छ ।
हिमाल आरोहणका लागि नेपाल आएका उनीहरु पछिल्लो १५ दिन बहराइनमै सेल्फ क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइन अवधि पूरा भएपछि गरिएको कोरोना परीक्षणमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।
नेपालमा बस्दा समेत टोलीले नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गर्ने छ । यो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने जनाइएको छ ।