किशोरीमाथि बलात्कार आरोपमा विद्यालयका हेडमास्टर पक्राउ

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


धनगढी । बझाङ घर भइ कैलालीको धनगढीमा डेरा गरी बस्ने किशोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा १ जना शिक्षक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले किशोरीमाथि बलात्कार आरोपमा बझाङको बित्थडचिर गाउँपालिका घर भएका कलकबहादुर बोहोरालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतिक विष्टका अनुसार धनगढीमा डेरा गरी बस्ने बझाङ नै घर भएकी किशोरीका पक्षबाट दायर भएको उजुरीका आधारमा बोहोरलाई पक्राउ गरिएको हो ।

डीएसपी विष्टका अनुसार बोहोराले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै पीडित किशोरीले भदौ २६ गते उजुरी दिएकी थिइन् ।

पक्राउ परेका बोहोरा बझाङमा रहेको कालिका बाल ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक (हेडमास्टर) हुन् ।

पक्राउ परेका बोहोराविरुद्ध जबरजस्ती करणीको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्