बाढीपहिरोको प्रकोप खेप्दै आएका सिन्धुपाल्चोकबासीमा आजको परकम्पले थप त्रास

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


काठमाडौं । वर्षात्को समयमा बाढीपहिरोको प्रकोप खेप्दै आएको सिन्धुपाल्चोकमा आज बिहान फेरि भूकम्पकाे परकम्प गएसँगै त्यहाँ थप त्रास बढेकाे छ ।

६ रिक्टर स्केलको परकम्प सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु बनाएर गएको हो ।

२०७२ सालको भूकम्पमा सबैभन्दा बढी मानवीय क्षति भएको सिन्धुपाल्चोकमा एकपछि अर्को प्राकृतिक विपत्ति पर्दै छ।

तीनपटकसम्म परकम्पले हल्लाएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताएका छन् ।

अहिलेसम्म क्षतिको विवरण नआएको बाह्रबिसे नगरपालिकाकी उपाध्यक्ष सुशीला पाख्रिनले बताएकी छिन् ।

राम्चे बाह्रबिसे र बलेफी गाउँपालिकाको सिमानास्थित जुरेको माथिल्लो भाग हो ।

यता परकम्पले पहिरोको थप जोखिम बढाएकाे विज्ञहरूले बताएका छन ।

लगातार पानी परिरहेको बर्खाको समय र पहिरोको उच्च जोखिममा रहेको जिल्ला सिन्धुपाल्चोकमा पहिराेकाे जाेखिम बढेकाे बताइएकाे छ ।

सामान्य अवस्थामा ६ म्याग्निच्यूडको परकम्पले ठूलो पहिरोको जोखिम त्यति नहुने तर सिन्धुपाल्चोक पहिरोको जोखिममा रहेको र लगातार पहिरो गइरहेको क्षेत्र भएकाे र बर्खाको समय पनि भएकाले जोखिम बढेको भूकम्पविद लोकविजय अधिकारले बताएका छन ।

भौगर्भिक इन्जिनियरिङ्गका अध्येता तथा पहिरो विज्ञ डा. बसन्तराज अधिकारीका अनुसार सिन्धुपाल्चोकसहितका क्षेत्रमा २०७२ सालको भूकम्पले हल्लाएका पहाडहरु अझै पनि पूर्णरुपमा स्थिर बनिनसकेका बेलामा फेरि ठूलाे परकम्प जाँदा अस्थिरता थपिएकाले सम्भावित जोखिमयुक्त क्षेत्रका बासिन्दाले थप सावधानी अपनाउनु आवश्यक छ ।

यो वर्षको मनसुन सुरु भए यता हालसम्म अर्थात गएको जेठ ३० गते यता सिन्धुपाल्चोकमा पहिरोका कारण ६९ जनाको ज्यान गएको छ भने ४० जना अझै बेपत्ता रहेका राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणकाे तथ्याङ्कमा उल्लेख गरिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्