पहिलो परीक्षा मंसिर र अन्तिम चैतमा

प्रकाशित मिति : भाद्र ३१, २०७७ बुधबार


काठमाडौं । सरकारले चालू शैक्षिक सत्र वैशाखबाट शुरु भएर चैतमा सकिने जनाएको छ । कोभिड–१९ का कारण करिब ५ महिना पढाइ नभएर शैक्षिसत्र कहिलेबाट शुरु हुन्छ भन्ने विषयमा अन्योल उत्पन्न भइरहेको अवस्थामा पाठ्यक्रम विकास केन्द्रमार्फत सो धारणा सार्वजनिक गरेको हो ।

विद्यालय तहको पाठ्यवस्तु समायोजन ढाँचा सार्वजनिक गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको भर्चुअल बैठकमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले सो जानकारी गराएकाे समाचार ईश्वरराज ढकालले नेपाल समाचार पत्र दैनिकमा लेखेका छन् । ।

उनले भने– ‘पाँच हिमाली जिल्लामा फागुन र अन्य जिल्लामा वैशाखदेखि शैक्षिकसत्र शुरु भइसकेको छ ।’ चैत महिनादेखि लकडाउन भएपछि पढाइ ठप्प भएको थियो । असारमा अनलाइन निर्देशिका जारी भएपछि केही निजी विद्यालयले औपचारिकरुपमा पढाइ शुरु गरेका थिए ।

सामुदायिक विद्यालयमा पठनपाठन ठप्प भएको अवस्थामा सरकारले वैशाखदेखि शैक्षिकसत्र शुरु भएर चैतमा अन्त्य हुने जनाइसकेको छ ।

मन्त्री अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले मंगलबार समायोजन ढाँचा सार्वजनिक गरेपछि औपचारिकरुपमा पठनपाठन शुरु हुने निश्चित भएको छ ।

शिक्षा सचिव डा. सञ्जय शर्माले कार्यढाँचा तयार गरेर सार्वजनिक गर्नुअघि परिषद्ले समायोजन ढाँचा सार्वजनिक गरेको हो ।

ढाँचामा मंसिरमा पहिलो र चैतमा अन्तिम परीक्षा लिने उल्लेख छ । सिकाइ सहजीकरण निर्देशिकालाई आधार मानेर निर्माण गरिएको समायोजन ढाँचामा विद्यार्थीको परीक्षा लिन विभिन्न मोडल तय गरिएको छ ।

अनलाइइन वा भर्चुअल, प्रश्नपत्र पठाएर घरबाटै परीक्षा दिन सक्ने (ओपनबुक), सामाजिक दूरी कायम गरी विद्यालयमै उपस्थित भएर र अन्य कुनै पनि विधिबाट परीक्षा लिन सक्ने उल्लेख छ ।

प्रयोगात्मक परीक्षासमेत सोही विधिमा आधारित हुने जनाइएको छ । करिब ६ सय पेजको कार्यविधि आज बुधबारसम्म केन्द्रको वेबसाइटमा राख्ने तयारी भएको छ ।

कार्यकारी निर्देशक दाहालले यो ढाँचा नमुना मात्र भएको जानकारी गराउँदै विद्यालयका प्रअ, विषय शिक्षक, विद्यालय व्यवस्थापन समिति र स्थानीय विज्ञसहितको समितिले पाठ्यपुस्तकको आधारमा तयार गरी पढाउनुपर्ने बताउनुभयो । प्रयोगात्मक परीक्षाको हकमा भने शिक्षकले भर्चुअल वा भौतिक दूरी कायम गरी लिने व्यवस्था गरेको छ ।

कार्यकारी निर्देशक दाहालले कठिन र कम कठिन पाठलाई विभाजन गरिएको बताए ।

शिक्षकले नपढाई नहुने पाठलाई कठिन र विद्यार्थी आफैले वा अभिभावकको सहयोगमा शिक्षकले केही सिकाएर मात्रै हुने पाठलाई कम कठिन भनिएको छ । कम कठिन पाठ शिक्षकले नपढाए पनि हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्