भोलिदेखि सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन हुने

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ६ : ४९


काठमाडौं । सरकारले असोज १ गतेदेखि नै लामो दुरीका यातायातका साधनहरु सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै असोज १ गतेदेखि नै लामो दुरीका यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै परराष्ट्र मन्त्री एवं सरकारको प्रवक्ता प्रदीप ज्ञवालीले असोज १ गतेबाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात, होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी खुलेसँगै स्वास्थ्य जोखिम अझ बढ्न सक्नेतर्फ सचेत रहँदै भौतिक दूरी कायम र स्वास्थ्य सुरक्षा कडाइका साथ पालना गर्न गराउन आह्वान गरे ।

साथै, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने पनि निर्णय गरेको छ ।

संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने पनि उनले बताए ।

यसअघि, सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज ५ गतेदेखि लामोदुरीका सवारीका साधनहरु सञ्चालन गर्न दिने निर्णय गरेको विषय सार्वजनिक भएको थियो ।

तर, मंगलबार निर्णय सार्वजनिक गर्दै मन्त्री ज्ञवालीले असोज १ गतदेखि नै यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए ।

यसैगरी हिमाल आरोहण तथा पदयात्रा कात्तिक १ गतेदेखि खुला गरिएको छ । आरोहण तथा पदयात्रामा स्वास्थ्य मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने छ ।

सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमनमा लगाउँदै आएको रोक असोज ३० गते मध्यरातसम्म थप गरेको छ ।

यसअघि नेपाल–भारत सीमा क्षेत्रका १० वटा नाकाबाट मात्र आवतजावतको अनुमति दिइएकोमा थप दुई नाका खुला गरिएका छन् ।

भारततर्फ इलाम र दार्चुलाका थप दुई नाकाबाट आवतजावत खुला गरिएको जनाइएको छ । यस्तै चीनतर्फ रसुवा नाका खुला गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्