परपुरुषसँग मिलेर आफ्नै श्रीमान्‌को हत्या गरेको आरोपमा महिला पक्राउ

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


गैंडाकोट । परपुरुषसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरेको आरोपमा नवलपरासी (पूर्व) प्रहरीले १ महिलासहित २ जनालाई पक्राउ गरेको छ ।

गैंडाकोट नगरपालिका–१८ हुर्चिल बस्ने ४२ वर्षीय धन बहादुर सुगुरपाक मगरको हत्या आरोपमा प्रहरीले उनकी श्रीमती ३८ वर्षीया फुलमाया सुगुरपाक र सहयोगी पुरुषलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सहयोगी पुरुषमा गैंडाकोट–१८ कै ४० वर्षीय मेख बहादुर सुनारी मगर छन् ।

४२ वर्षीय धनबहादुर २० असार २०७६ मा बेपत्ता भएका थिए । प्रहरीले बेपत्ता भएको आशंकामा धनबहादुरको खोजी गरिरहे पनि लामो समयपछि हत्या आशंकामा उनकै श्रीमती फुलमाया र छिमेकी मेख बहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।

दुवै जनाको बयानका आधारमा प्रहरीले स्थानीय सुन्दरी सामुदायिक वनअन्तर्गत पर्ने जंगलमा एउटा खाल्टो उत्खनन् गरी मानव कंकाल समेत बरामद गरेको छ ।

फेला परेको कंकाल धनबहादुरको भए नभएको परीक्षणका लागि पठाइएको नवलपरासी (पूर्व) प्रहरीले जानकारी दिएको छ ।

प्रहरीलाई दिएको बयानमा फुलमायाले मेख बहादुरसँग मिलेर श्रीमानको हत्या गरेको स्वीकार गरेकी छन् ।

आफ्नै घरमा सुतीरहेको अवस्थामा श्रीमान् (धनबहादुर)को संवेदनशील अंगमा हम्मरले प्रहार गरी, घाँटीमा डोरीले कसेर हत्या गरेको फुलमतीले स्वीकार गरेकी छन् ।

हत्यापछि मेख बहादुरको सहयोगमा शवलाई डोकोमा हालेर सुन्दरी वनमा लगी खाल्डो खनेर पुरेको फुलमतीले बयानमा बताएकी छन् ।


तस्वीर– प्रतिकात्मक


प्रतिक्रिया दिनुहोस्