बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भएका दासविरुद्ध ७ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ३ : २५


काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा बलभद्र प्रसाद दासले आफ्नो सेवा अवधिका क्रममा ७ करोड ७१ लाख रुपैयाँ बराबरको अकूत सम्पत्ति आर्जन गरेको देखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानका क्रममा तत्कालीन उपकुलपति दासले ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको देखिएको हो ।

२७ अजार २०५० मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जुनियर रजिष्टर्डको रुपमा सेवा प्रवेश गरेका दास १७ पुस २०६८ मा प्रतिष्ठानको उपकुलपति बनेका थिए । त्यसपछि उनी ३० असार २०७६ सम्म प्रतिष्ठानमा प्राध्यापक पदमा कार्यरत रहेका थिए ।

अख्तियारका अनुसार सेवा प्रवेश गरेको मिति २७ असार २०५० देखि सेवा निवृत्त मिति ३० असार २०७६ मा उनले १५ करोड ३२ लाख ३ हजार ३ सय ५० रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको देखिन्छ । जसमध्येको ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रुपैयाँको स्रोत खुल्न नसकेको अख्तियारले जानकारी दिएको छ ।

अख्तियारका अनुसार तत्कालीन उपकुलपति दासले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति आफ्नो श्रीमतीको नाममा राखेको देखिएको छ ।

अख्तियारले गैरकानूनी सम्पक्ति आर्जन गरेको अभियोगमा दासविरुद्ध ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनीविरुद्ध बिगोअनुसार जरिवाना र २ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

अख्तियारले सम्पत्ति जफत प्रयोजनार्थ दासकी श्रीमती पुनम दासलाई समेत प्रतिवादी बनाएर मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


प्रतिक्रिया दिनुहोस्