नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १२ : ०४


नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ । सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा खसेका छन् ।

डिभिजन सडक कार्यालय चितवनका इ शिव खनालका अनुसार पहिरो पन्छाउने काम बिहानदेखि शुरु भएको छ ।

थप पहिरो नखसेमा दिउँसोसम्ममा एकतर्फी सञ्चालन गर्न सकिने भए पनि पूरै सडक सफा गर्न साँझसम्म लाग्ने उनले जानकारी दिए ।

ती चार ठाउँमध्ये चार किलो र घुमाउनेमा पहिरो पन्छाउने काम भइरहेको छ ।

खनालले भने , “ती दुई ठाउँमा एकतर्फी भएसँगै उपकरण लगेर बिचका दुई पहिरो पन्छाउँछौँ ।”

एकतर्फी सञ्चालन गरेर त्यहाँ अड्किएका सवारी साधन पार गराएपछि दुईतर्फी खुलाइने छ ।

सोमबार राति शुरुमा १०ः३० बजे चारकिलोमा पहिरो खसेको थियो । रातको समयमा क्रमशः अन्य ठाउँमा पहिरो खसेको खनालले बताए । सोमबार दिउँसो पनि सो सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

साना पहिरा ठाउँठाउँमा भएकाले सङ्ख्या यकिन गर्न नसकिए पनि ती पहिरो पन्छाउन समय नलाग्ने उनको भनाइ छ ।

यसैबीच पाँचकिलोमा माथिबाट झरेको लेदोले सडक भरिएर छेउमा रहेका तीन घरमा लेदो पसेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङका अनुसार सडकमा रहेको एउटा बोलेरो लेदोले भरिएको छ । लेदोले अन्य दुई घरको जग खोतलेको तामाङले बताए ।


प्रतिक्रिया दिनुहोस्