काठमाडौं । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका डा. ज्ञानेश्वरप्रसाद सिंहको उपचारमा लापरबाही र त्रुटि गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका एक चिकित्कसलाई कारबाही गरेको छ भने एकजनालाई स्पष्टीकरण सोधेको छ ।
काउन्सिलले डा. सिंहको उपचारमा संलग्न आँखा, कान, घाँटी, नाकका चिकित्सक डा. विश्व तुलाचनलाई एक वर्षसम्म ‘इसोफिजिएल इन्डोस्कोपी’ नपाउने कारबाही गरेको छ । एक वर्षपछि इसोफिजिएल इन्डोस्कोपीको तालिम लिएको प्रमाण पेस गरेपछि मात्रै डा. तुलाचनलाई काम गर्न दिने निर्णय गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेकाे छ ।
काउन्सिलले २५ भदौमा डा. तुलाचनलाई यस्तो निर्देशनसहितको पत्र पठाएको हो । डा. तुलाचनले उपचारका क्रममा उपचारको पूर्ण प्रक्रिया नअपनाएको, बिरामी पक्षलाई सबै जानकारी नगराएको र उपचारको अभिलेख तथा कागजात दुरुस्त नराखेको काउन्सिलको ठहर छ ।
त्यस्तै, उपचारमा संलग्न अर्का चिकित्सक लक्ष्मी पाठक (एनेस्थेसिया)ले डा. सिंह र उनको परिवारको स्वीकृति नलिई उपचार गरिरहेको भिडियो, तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेर गम्भीर विषयमाथि खेलबाड गरेको र बिरामीलाई उपयुक्त समयमा काउन्सिलिङ नगरेको काउन्सिलले जनाएको छ ।
बिरामीको उपचारसँग सम्बन्धित कागजात र अभिलेख दुरुस्त नराखेको हुँदा ‘कोड अफ इथिक्स एन्ड प्रोफेसनल कन्डक्ट, २०१७’ अनुसार किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ । डा. पाठकलाई निषेधाज्ञा खुलेको दुई हप्ताभित्र काउन्सिलमा स्पष्टीकरण पेस गर्न भनिएको छ ।
डा. सिंहको उपचारमा संलग्न तीनजना चिकित्सकमध्ये एकजनाको कुनै गल्ती नदेखिएको काउन्सिलले जनाएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ को परिच्छेद ४ को २२ ‘क’ र ‘ग’अनुसार उपचार नगरेको देखिएको काउन्सिलको ठहर छ ।
नियमावलीअनुसार ‘आफ्नो बुद्धि र क्षमताले भ्याएसम्म उचित निदान गरी रोगको उपचार गर्ने, आफूले आफ्नो शक्ति, ज्ञान, सीप र अनुभवले कुनै रोगको उपचार गर्न नसक्ने जस्तो लागेमा उपलब्ध हुन सकेसम्म कुनै विशेषज्ञसँग सल्लाह लिई गर्ने र अवस्था हेरी रोगीको उपचार हुन सकेसम्म विशेषज्ञबाट गराउनुपर्छ भन्ने कुराको सल्लाह स्पष्ट रूपमा उपचार गराउने रोगी वा रोगीका परिवारका भरपर्दो सदस्यलाई दिने अथवा अस्पतालजस्ता संस्थामा सिफारिस गर्ने’ काम युनिभर्सल कलेजले नगरेको काउन्सिलले जनाएको छ ।