भारतले प्याज निर्यातमा प्रतिबन्ध लगायो

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १० : ३८


काठमाडौं । भारतले सबै प्रकारका प्याज निर्यातमा बन्देज लगाएको छ।

घरेलु माग पुरा नभएपछि भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन।

भारतमै बढ्दो मूल्यका बीचमा केन्द्र सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्णय गरेको हो।

सोमबार एक सूचना मार्फत भारतले प्याज निर्यातमा बन्देज लगाएको जनाएको छ।

दक्षिणी राज्यहरूमा भारी वर्षाका कारण प्याजको बाली क्षतिग्रस्त भएको छ।

जसका कारण घरेलु बजारमै प्याजको मूल्य लगातार वृद्धि भइरहेको छ।

थोक बजारमा अगस्ट ८ देखिनै प्याजको मूल्य लगातार बढ्दै गइरहेको भारतीय मिडियाले जनाएका छन।

यो सँगै अब नेपालमा भारतबाट प्याज नआउने भएको छ। विश्वभरिमै प्याजको अधिक खेति भारतमा हुने गरेको बताइन्छ ।

दक्षिण एसियाली मानिसहरु पनि खानामा प्याजको धेरै प्रयोग गर्ने गर्छन।

अहिले बंगलादेश, नेपाल, मलेसिया र श्रीलंका जस्ता देशहरू भारतीय प्याजमा निर्भर छन्।

मुम्बईस्थित प्याज निर्यात संघका अध्यक्ष अजित शाहका अनुसार कर्नाटक र आन्ध्र प्रदेश जस्ता दक्षिणी राज्यहरूमा यस वर्ष भारी वर्षा भएको छ।

जसका कारण प्याजको बालीनाली बिग्रिएको छ। अन्य राज्यहरूमा पनि प्याजको बाली अहिले ढिलाइ भइरहेको छ।

व्यापारीहरुका अनुसार प्याजको मूल्य आलु पछि बढ्दै गएको हो।

भारी वर्षाका कारण बालीनाली क्षतिग्रस्त भएपछि प्याजको मुल्य बढेको हो। आगामी १५ दिनसम्म मुल्य घट्ने कुनै संकेत छैन।

भारतबाट प्याज नआउँदा नेपालमा प्याजको भाउ आकासिने गर्छ ।

अहिले नयाँ दिल्लीमा प्याज किलोको मुल्य ८० भारु पुगेको छ।

भारतले गएको वर्ष पनि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। छ महिना लामो प्रतिबन्ध मार्चमा खोलिएको थियो।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा मूल्य बृद्धि भएको थियो।

 


प्रतिक्रिया दिनुहोस्