पाकिस्तानमा भोलिबाट स्कुल/कलेज खुल्ने

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ७ : ५०


काठमाडौं । कोरोना भाइरसलाई नियन्त्रणमा राखेको पाकिस्तानले भोलि (मंगलबार)बाट स्कुल/कलेज खुला गर्ने भएको छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भोलिबाट स्कुल खुल्ने सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।

पाकिस्तानी शिक्षा मन्त्रालयका अनुसार देशका सबै उच्च शिक्षा संस्थानहरू सेप्टेम्बर १५ (भोलि) बाट पुनः सञ्चालनमा आउन लागेका हुन।

९ देखि देखि १२ सम्मका विद्यार्थीहरू पनि पढ्न स्कुल जाने छन्।

कोरोना महामारीका कारण पाकिस्तानमा ६ महिना भन्दा लामो समयदेखि स्कुलहरु बन्द थिए।

सामाजिक सञ्जाल टविटरमा प्रधानमन्त्री खानले लाखौं बालबालिकालाई स्कुलमा स्वागत गर्न आतुर रहेको बताएका छन्।

स्कुल खोलिँदा सुरक्षा मापदण्ड भने अपनाइने उनले उल्लेख गरेका छन्।

‘हामी भोलि लाखौं बालबालिकालाई विद्यालयमा पुनः स्वागत गर्नेछौं। हरेक बच्चा ज्ञान प्राप्त गर्न सुरक्षित रुपमा विद्यालय जाने हाम्रो प्राथमिकता र सामुहिक दायित्व हो,’ खानले ट्वीटमा लेखेका छन्, ‘कोरोनाको सन्दर्भमा सार्वजनिक स्वास्थ्य नियमहरुको अनुरुप स्कुलमा स्वास्थ्य गतिविधिहरु ल्याउनका लागि विशेष व्यवस्था गरिएको छ।’

कोरोनाभाइरसको प्रकोप पछि पाकिस्तानले मार्चमा देशभरका सबै शैक्षिक संस्थानहरू बन्द गरेको थियो।

नेपाल/भारत लगायतका देशले देशमा पूर्ण लकडाउन गर्दा इमरान नेतृत्वको सरकारले पाकिस्तानमा पूर्ण लकडाउन भने कहिल्यै गरेन। आर्थिक गतिविधी जारी राखिएको थियो।

लकडाउनका कारण जनतालाई असर पर्ने भएकाले लकडाउन नगरिएको इमरान बताउँछन्। पाकिस्तानमा पछिल्लो समय कोराना संक्रमणका घटना दिनदिनै घट्दै गएका छन्।

पूर्ण लकडाउन नगरि पाकिस्तानले कोरोना महामारी नियन्त्रणमा लिएको हो।


प्रतिक्रिया दिनुहोस्