नेपाली अभियान्ता उज्जवल थापालाई अमिताभ बच्चनले दिए बधाई

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


काठमाडौं । हिन्दी सिनेमा उद्योग (बलिउड)का अभिनेता अमिताभ बच्चनले एसिड आक्रमण विरुद्धको अभियानमा सक्रिय उज्जवलविक्रम थापालाई बधाई दिएका छन् ।

एसिड आक्रमणमा परेकाहरुको सहयोगमा चलाएको अभियानबाट प्राप्त सफलताका लागि बच्चनले थापालाई बधाई दिएका हुन् ।

अमिताभ बच्चन र उज्जवल थापा भारतको नैनीतालस्थित शेरउड कलेजमा पढेका हुन् ।

थापाले एसिड आक्रमण गर्नेविरुद्ध कडा कानून निर्माण गरिनु पर्ने भन्दै अभियान सञ्चालन गर्दै आएका थिए ।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण विरुद्ध कडा कानून ल्याउन निर्देशन दिएपछि कानून निर्माणको प्रक्रिया थालिएको छ ।

एसिड आक्रमणमा परेकाको संरक्षण तथा आक्रमणकारीविरुद्ध कानून निर्माणका लागि नेपाल कानून आयोगले थापासँग समेत सुझाव लिएको थियो ।

कानून निर्माणको विषय महत्वपूर्ण भएको उल्लेख गर्दै अमिताभले सामाजिक सञ्जालमार्फत थापाको प्रशंसा गरेका छन् ।

थापाको कामले शेरउड कलेज मात्र नभइ समग्र नेपाललाई नै गौरवान्वित बनाएको उल्लेख गर्दै बच्चनले लेखेका छन्, ‘धेरै धेरै बधाई… यो राम्रो काम जारी राख्नु ।’


प्रतिक्रिया दिनुहोस्