क्रिकेटर ललित भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याईंदै

प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार


काठमाडौं । मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिँह भण्डारीलाई काठमाडौं ल्याइने भएको छ।

अवस्था गम्भीर रहेपछि उनलाई नेपालगन्ज मेडिकल कलेजले काठमाडौं रिफर गरेको छ।

आइतबार भण्डारी सवार मोटरसाइकललाई कन्चनपुर स्थित झलारीमा ट्रकले ठक्कर दिएको थियो।

धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्रिकेटर भण्डारीसहित उनको नातेदार करन ठगुन्ना पनि घाइते भएका थिए। उनको हात र खुट्टा फ्याक्चर भएको छ। अहिले उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।

उनलाई महेन्द्रनगरमै प्राथमिक उपचारपछि धनगढी स्थित ‘निसर्ग अस्पताल’मा रिफर गरिएको थियो।

त्यहाँ सामान्य उपचार पश्चात हिजो राति नै ‘नेपालगन्ज मेडिकल कलेज’ मा थप उपचार गरिएको थियो।

आज काठमाण्डौ ल्याउदै ग्राण्डी अस्पतालमा भर्ना गरी थप उपचार हुने भएको छ।

उपचारमा संलग्न हुने डाक्टर एवंम मेडिकल टिमलाई उपचारमा सक्रीय सहयोग गरीदिनहुन् नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले आग्रह गरेका छन्।

लकडाउनपछि खेल गतिविधि बन्द भएकाले भण्डारी कञ्चनपुर घर आएका थिए।

घाइते भण्डारीको उपचारका लागि राष्ट्रिय क्रिकेट टिमले सम्पूर्ण सहयोग गर्ने कप्तान ज्ञानेन्द्र मल्लले प्रतिवद्धता जनाएका छन्।

२४ वर्षीय भण्डारी तीन वर्षअघि राष्ट्रिय टिममा परेका थिए।


प्रतिक्रिया दिनुहोस्