डा गोविन्द केसीले जुम्लाबाट शुरु गरे १९ औं अनसन

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  २ : ५८


काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले जुम्लाबाट आफ्नो १९ आमरण अनसन शुरु गरेका छन् ।

चिकित्सा शिक्षा सुधारसहित विभिन्न ६ बुँदे माग राख्दै केसीले जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचउरमा रहेको वाविरा मन्दिरमा आमरण अनसन शुरु गरेका हुन् ।

डा केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने, कैलालीको गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठन पाठन शुरु गर्नुपर्ने, प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा डोटी÷डडेल्धुरा, उदयपुर र इलाम÷पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल सञ्चालनको प्रक्रिया अगाडि बढाउनुपर्ने विषयलाई आफ्नो पहिलो मागका रुपमा अगाडि सारेका छन् ।

डा केसीले आफूसँग १० साउन २०७५ मा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने माग दोस्रो बुँदाका रुपमा अगाडि सारेका छन् ।

यस्तै, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा विरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरुमा निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्ति गर्ने कानूनी व्यवस्था गर्न पनि डा केसीले माग गरेका छन् ।

डा केसीले अछामको बयलपाटा अस्पतालमा नियमित बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा शुचारु गर्न लगायत माग पनि अगाडि सारेका छन् ।

डा केसी यसअघि पनि १६ औं अनसन जुम्लामा बसेका थिए ।


प्रतिक्रिया दिनुहोस्