पीएसजी छोड्दै एमबाप्पे, यी क्लबमा हुँदैछ चर्चा

प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार


एजेन्सी । युवा फुटबलर एवं स्टार केलिएन एमबाप्पेले पेरिस सेन्ट जर्मन(पीएसजी) छोड्ने तयारी गरेका छन् ।

उनले क्लबलाई यसबारे जानकारी गराइसकेको बताएका छन् ।

द टाइम्सका अनुसार एमबाप्पेले क्लबलाई आफूले आगामी वर्ष क्लब छाड्ने बारे जानकारी गराइसकेको बताएका छन् ।

सन् २०२१–२०२२ को सिजनको अन्त्यसँगै एमबाप्पे र पीएसजीबीचको सम्झौता सकिँदैछ । त्यसपछि सम्झौता थप नगर्ने पक्षमा एमबाप्पे पुगेको समाचारहरु सार्वजनिक भएका हुन् ।

उनले छाड्ने बताएपछि सम्झौता थप गर्ने विषयमा क्लबसँग कुरा भएको छैन ।

उनी पीएसजीबाट बाहिरिने भएसँगै उनको अबको यात्रा कता हुन्छ भन्ने प्रश्न उब्जिएको छ ।

गत विश्वकप देखि थप चर्चामा रहेका एमबाप्पेलाई घर भित्र्याउन रियल मड्रिडले बढी चासो देखाएको र उनी त्यही अनुबन्धित हुने चर्चा चलेको छ ।

इंग्लिस क्लबहरु म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले पनि एमबाप्पे अनुबन्ध गर्न चासो देखाएका छन्।

मेस्सीले आगामी सिजन बार्सा छाड्ने सम्भावना बढि भएको समयमा बार्सिलोनाले समेत एमबाप्पेलाई क्लबमा अनुबन्ध गर्ने प्रयास गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

 


प्रतिक्रिया दिनुहोस्