योशिहिडे सुगा : जापानका नयाँ प्रधानमन्त्री किसानका छोरा

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  २ : ४२


काठमाडौं । जापानको नयाँ प्रधानमन्त्री योशिहिडे सुगा बन्ने लगभग पक्का भएको छ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीले सिन्जो आबेपछि योशिहिडे सुगालाई आफ्नो प्रमुख नेता चयन गरेको छ।

अब योशिहिडे जापानको नयाँ प्रधानमन्त्री हुने पक्का भएको हो। प्रधानमन्त्री शिन्जो आबेले गत महिना बिरामी भएपछि स्वास्थ्य अवस्थाका कारण राजीनामा घोषणा गरेका थिए।

७१ बर्षीय योशिहिडे शिन्जो आबेका घनिष्ट मित्र मानिन्छन्, उनले आबेकै नीतिहरुलाई अगाडी बढाउने बताइएको छ।

संसदीय नेता चयनका लागि भएको निर्वाचनमा योशिहिडेले कुल ५३४ मतमा ३७७ मत प्राप्त गरे।

अब बुधबार संसदमा प्रधानमन्त्री चयनका लागि फेरि मतदान हुनेछ, पार्टीको बहुमत पाएपछि उनी प्रधानमन्त्री बन्न लागेका हुन।

जापानमा आगामी संसदीय चुनाव भने सेप्टेम्बर २०२१ मा हुनेछ।

एक सामान्य स्ट्रबेरी किसानको परिवारमा जन्मेका योशिहिडे सुगा देशको कार्यकारी प्रमुख बनेर लामो समयदेखि प्रभुत्व जमाइरहेको जापानको सम्भ्रान्त राजनीतिमा नयाँ इतिहाँस रच्ने छन्।

सुगा जापानको प्रधानमन्त्री बन्नु नेपालको लागि पनि निकै महत्वपूर्ण छ। उनको नेपाली नाता गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष भवन भट्टसँग जोडिन्छ।

उनी नाताले भट्टका काका ससुरा (भट्टकी पत्नीका काका) पर्छन्।

सुगासँग भट्टको व्यक्तिगत सम्बन्धका कारण यसबाट नेपालले प्रत्यक्ष लाभ लिन सक्नेछ। आफ्ना काका ससुरा जापानको प्रधानमन्त्री बन्न लागेको खबरले आफू निकै उत्साहित रहेको भट्टले बताएका छन्।

सञ्चार माध्यमसँगको कुराकानीमा भट्टले भनेका छन्, ‘उहाँ प्रधानमन्त्री हुँदा व्यक्तिगत रुपमा मलाई त धेरै नै खुसी लागेको छ। यसबाहेक ठूलो अर्थतन्त्र भएको देश जापान, जसले नेपालसहितका देशहरुलाई सहयोग समेत गर्दै आएको छ, त्यहाँको प्रधानमन्त्री मेरो आफन्त नै पर्दा पक्कै पनि त्यहाँबाट प्राप्त हुने सहयोग बढ्नेछ। नेपालले अझै धेरै क्षेत्रमा लाभ दिन सक्नेछ।’

जापानमै रहेर व्यवसाय गरिरहेका भट्टले जापानी नागरिक मियकोसँग विवाह गरेका थिए। उनै मियकोका काका अहिले जापानको प्रधानमन्त्री बन्न लागेका हुन्।

टोकियोको होसेई विश्वविद्यालयबाट स्नातक गरेपछि संसदीय चुनाव अभियानका लागि काम गरेका उनको त्यहीबाट राजनीतिक यात्रा सुरु भएको थियो।

पछि, उनले लिबरल डेमोक्र्याटिक पार्टीका सांसदको सचिवको रूपमा काम सुरु गरे। यसपछि उनको आफ्नै राजनीतिक यात्रा सुरु भयो।

सन् १९८७ मा योकोहामा सिटी काउन्सिलमा चुनिएका उनी सन् १९९६ मा पहिलो पटक जापानको सांसद चुनिएका थिए।

सन् २००५ मा तत्कालिन प्रधानमन्त्री जुनिचिरो कोइजुमीले उनलाई आन्तरिक मामिला तथा सञ्चार विभागका वरिष्ट उपमन्त्री नियुक्त गरेका थिए।

त्यसपछि प्रधानमन्त्री भएका शिन्जो आबेले सुगालाई तीन मन्त्रालयको जिम्मेवारी दिएर उनलाई वरिष्ठ मन्त्रीको पद दिएका थिए। सुगा २००७ सम्म उनले यो जिम्मेवारी वहन गरे।

उनले प्रधानमन्त्री शिन्जो आबे संग राम्रो सम्बन्ध बनाए। सन् २०१२ मा जब आबे फेरि प्रधानमन्त्री बने, उनले सुगालाई जापानी मन्त्रिपरिषदको प्रमुख सचिवमा नियुक्त गरे।

पछिल्लो आठ बर्षमा शिन्जो आबेको दाहिने हात मानीएका सुगा मिडिया ब्रिफिंगमा सबैभन्दा बढी देखिने अनुहार हो। उनलाई दिनको दुई पटक मिडिया ब्रिफिंग गुर्नपथ्र्यो।

जापानको जटिल परिस्थितीको व्यवस्थापन पनि उनको उत्तरदायित्व थियो।

जापानी प्रशासनको सार्वजनिक अनुहार मानिने सुगाका सामू सन २०१९मा सम्राट अकिहितोलाई हटाएपछि नयाँ शाही युगको नाम पहिचान गर्ने जिम्मेवारी दिइएको थियो।

नयाँ सम्राट नरुहितो अधिनको शाही कालको उनले नामकरण गरे : ‘रिवा’, जसको अर्थ ‘सुन्दर सौहार्द’ थियो।

सुगाले यस्तो घोषणा गरेपछि उनलाई प्रेमले मानिसहरु ‘अंकल रिवा’ भन्ने गर्छन। अगस्ट २८ मा स्वास्थ्य अवस्था बिग्रिएपछि सिन्जो आबेले प्रधानमन्त्रीबाट राजीनामा घोषणा गरे, त्यसबेलादेखिनै सुगा आबेका उत्तराधिकारी हुने अनुमान गरिएको थियो।

आवेको राजीनामा घोषणापछि आज (सेप्टेम्भर १४) मा सत्तारुढ दलका सांसदहरुबीच भएको मतदानमा सुगा स्पष्ट मतसहित संसदीय दलको नेतामा निर्वाचित भएका हुन।

संसदीय दलको नेताका लागि उनले पूर्वरक्षामन्त्री शिगेरु इशिबा र पूर्वविदेशमन्त्री फुमियो किशिदालाई पराजित गरे।

सुगाले कुल ५३४ मत मध्ये ३७७ प्राप्त गर्दा किशिदाले ८९ र इशिबाले ६८ मत प्राप्त गरे। अब उनी प्रधानमन्त्री बन्न लागेका हुन। कुनै पनि गुट वा समुहमा नरहेका तथा राजनीतिक विरासत नभएका सुगा पहिलोपटक जापानको नयाँ प्रधानमन्त्री बन्न लागेका हुन।

जापानको सबैभन्दा लामोसमयसम्म प्रधानमन्त्री बनेका शिन्जो आबेको कार्यकाल पछि योशीहिदा सुगानै मुलुकमा निरन्तरता र स्थिरताको प्रतिनिधित्व गर्ने ठानिएको छ।

संसदीय नेताको लागि उम्मेद्वारी घोषणा गरेपछि उनले शिन्जो आबेको आर्थिक नीति जारी राख्ने कुरा बताएका थिए। आबेको नीतिलाई ‘एबेनोमिक्स’ पनि भनिन्छ।

आबेले यो नीति मौद्रिक रुपबाट सहज वातावरण, वित्तीय प्रोत्साहन र संरचनात्मक सुधारको आधारमा बनाएका थिए।

सुगाले आत्मसुरक्षा बललाई वैध बनाउनको लागि जापानको युद्धपछिको शान्तिवादी संविधान संशोधन गर्ने एजेण्डा अघि सारेका छन्। जुन शिन्जो आबेको पनि एक महत्वपूर्ण एजेन्डा थियो।

तर,अहिले उनको चुनौती भनेको कोरोना महामारी र यसले पैदा भएको आर्थिक संकटसँग डील गर्नु पनि छ। सुगा देशमा कोरोना परीक्षण बढाउन चाहन्छन् र आउँदो वर्षको पहिलो छ महिना सम्ममा उपयुक्त खोप प्राप्त गर्ने लक्ष्य राखेका छन्।

सुगा न्यूनतम पारिश्रमिक बढाउँदै कृषि क्षेत्रमा सुधार र पर्यटन प्रवर्द्धन गरेर क्षेत्रीय अर्थतन्त्रलाई पुनर्जीवित गर्न चाहन्छन्।

विदेश नीतिको मोर्चामा उनी अमेरिका र जापान बीचको लामो समयदेखि चलिरहेको गठबन्धनलाई प्राथमिकता दिनेछन् र स्वतन्त्र इन्डो-प्यासिफिक पनि चाहन्छन्।

सुगाले चीनसँग स्थिर सम्बन्ध कायम गर्ने लक्ष्य पनि लिएका छन।


प्रतिक्रिया दिनुहोस्