जापानको नयाँ प्रधानमन्त्री बन्ने भए सुगा

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १ : ४६


जापान । जापानाका नयाँ प्रधानमन्त्री योशिहिडे सुगा बन्ने भएका छन् । जापानी मन्त्रिपरिषद प्रमुख सचिव सुगा नयाँ प्रधानमन्त्री बन्ने भएका हुन् ।

सोमबार सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीले सुगालाई संसदीय दलको नेतामा चयन गरेसँगै उनी जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको जापानी समाचार माध्यमहरुले जदनाएका छन् । ा

सत्तारुढ दलका सांसदहरुबीच भएको मतदानमा सुगा स्पष्ट मतसहित संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । संसदीय दलको नेताका लागि उनले पूर्वरक्षामन्त्री शिगेरु इशिबा र पूर्वविदेशमन्त्री फुमियो किशिदालाई पराजित गरेका थिए ।

सुगाले ३७७ मत प्राप्त गर्दा किशिदाले ८९ र इशिबाले ६८ मत प्राप्त गरे । संसदीय दलको नेता छान्नका लागि एलडीपीका ३९४ सांसद, स्थानीय च्याप्टरका १४१ डेलिगेट्स र पार्टीका वरिष्ठ नेताहरुले मतदान गरेका थिए ।

गत अगस्ट २८ मा शिन्जो आबेले स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएपछि जापानका नयाँ प्रधानमन्त्री चुन्नका लागि सत्तारुढ दलमा निर्वाचन भएको हो । आबेको राजीनामापछि उनीनिकट नेता मानिने सुगा नै संसदीय दलको नेतामा निर्वाचित हुने अपेक्षा गरिएको थियो ।

बुधबार प्रधानमन्त्रीका लागि संसदमा चुनाव हुनेछ । तर जापानी संसद्मा एलडीपीको बहुमत भएकाले त्यो चुनाव औपचाकिता मात्रै हुनेछ ।


प्रतिक्रिया दिनुहोस्