‘कुलमानलाई फेरि नियुक्ति गर्न दबाब दिन बेलुका आठ बजे ५ मिनेट बत्ति निभाउ’

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ११ : ५२


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा कुलमान घिसिङको कार्यकालको हिजो(आइतबार) सकिएको छ ।

उनले चार वर्ष पहिले भदौ २९ गते कार्यकारी निर्देशकको रूपमा नियुक्ति पाएका थिए । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यकाल ४ वर्ष हुन्छ ।

कार्यकाल सकिनु अघिनै सरकारले उनलाई पुन नियुक्ति गर्ने अपेक्षा सर्वसाधारणको थियो तर कार्यकाल सकिएपनि प्राधिकरणका सिइओमा कसैलाई पनि नियुक्ति गरिएको छैन ।

१८ घन्टा भन्दा लामो समय लोडसेडिङ खेपेका धेरै नेपालीले कुलमानलाई नै प्राधिकरणको प्रमुख बनाउनु पर्ने धारणा राख्ने गरका छन् ।

उनी प्राधिकरणको कार्यकारी निर्देशक भएर आएपछि १८ घन्टा लामो लोडसेडिङ अन्त्य मात्र गरेनन् वर्षौदेखि घाटामा रहेको प्राधिकरणलाई सबैभन्दा धेरै नाफा रहेको संस्थानसमेत बनाएको भन्दै उनको तारिफ हुने गरेको छ ।

कुलमानको पुनर्नियुक्तिकालागि धेरैले अभियान नै चलाएका थिए । र उक्त अभियान अझैपनि जारी रहेको छ ।

उर्जा मन्त्रालयले प्राधिकरणमा कुलमानलाई नै नियुक्त गर्नेगरि प्रस्ताव तयार गरेको समाचारहर बाहिरिएका छन् । अब बस्ने मन्त्रिपरिषद्ले यसबारेमा निर्णय गर्ने आकलन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि कुलमानलाई नै विद्युत प्राधिकरणमा निरन्तरता दिने विषयमा सहमति भएको जनाइएको छ ।

यसैबीच निर्माता निर्देशक दिपकराज गिरीले प्राधिकरणको प्रमुखमा कुलमान घिसिरङलाई पुनः नियुक्ति गर्नुपर्ने र त्यसका लागि जनदबाब दिन आवश्यक रहेको उल्लेख गरेका छन् ।

त्यसका लागि पाँच मिनेट सबैले घरघरमा बत्ति निभाउन समेत उनले आग्रह गरेका छन् ।

सामाजिक सञ्जालबाट कलाकार गिरीले लेखेका छन्, कुलमानको पुन नियुक्तिका लागि जनदबाब स्वरुप आजबाट हरेर साँझ ८ बजे ५ मिनेट बत्ति निभाएर ऐकबद्धता प्रकट गरौं ।


प्रतिक्रिया दिनुहोस्