मन्दिरमा फोहोर फालेको भन्दै धनुषामा हिन्दू र मुस्लिम समुदायबीच झडप

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ५ : २३


जनकपुरधाम । मन्दिरमा फोहोर फालेको भन्ने विषयमा भएको विवादले झडपको रुप लिँदा धनुषामा करिब २४ जना घाइते भएका छन् ।

धनुषाको नगराइन नगरपालिका–७ नवटोलीस्थित दूधहा पोखरीको डीलमा रहेको श्री नवनेश्वर नाथ महादेवको मन्दिरमा फोहोर फालेको विषयमा हिन्दू र मुस्लिम पक्षबीच भएको विवादले झडपको रुप लिएको हो ।

मन्दिर निर्माण लागि शिलान्यास गरिएको ठाउँमा मुस्लिम पक्षले फोहोर फालेको भन्दै दुई पक्षबीच झडप भएको हो ।

झडपका क्रममा दुवै पक्षका गरी करिब २४ जना घाइते भएका छन् ।

हिन्दू पक्षले मन्दिर निर्माणका लागि शिलान्याश गरिएको क्षेत्रमा फोहोर फालेको भनेपनि मुस्लिम पक्षले भने दुई महिलाबीचको विवादलाई सम्प्रदायिकतासँग जोडिएको बताएको छ ।

स्थानीय अगुवाका अनुसार दूधहा पोखरीको डिलमा मन्दिर निर्माण गर्ने विषयमा मुस्लिम पक्षले असहति जनाउँदै आएको थियो । सोही विषयलाई लिएर आइतबार दुई पक्षबीच विवाद चर्किएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रले अहिले स्थिति नियन्त्रणमा रहेको जानकारी दिएका छन् ।

दुवै पक्षलाई सहमतिमा ल्याइए पनि फेरि कुनै अप्रिय घटना हुन नपाओस् भन्नका लागि ३० जना प्रहरीको टोली परिचालन गरिएको डीएसपी मिश्रले जानकारी दिए ।

घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको दुई अलग अलग टोलीले गस्ती गरिरहेको जनाइएको छ ।

झडपका क्रममा दुवै पक्ष डुङ्गा–मुडा प्रहारमा उत्रिएका थिए । झडपका त्रममा मुस्लिम पक्षका समसुद्दिन नफाद, जुमैदा खातुन, मैमुन खातुन, मोबारक नदाफ, गुलाम नदाफ, तस्लिम नदाफ, हसिना खातुन, हस्मत खातुन, मुमताज नदाफ र जमाहिर नदाफ घाइते भएका छन् ।

यस्तै, हिन्दू पक्षका सरोज यादव, संजय साफी, मुकेश यादव, निभा ठाकुर, विनय कुमार यादव, राकेश यादव र कृष्णा यादव घाइते भएका जनाइएको छ ।

घाइतेहरुको स्थानीय अस्पताल र जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्