गृहमन्त्रीलाई पाकिस्तानी राजदूतको अनुरोध– सार्कलाई सक्रिय बनाउन नेपालले भूमिका बढाउनु पर्‍यो

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ४ : १४


काठमाडौँ, २८ भदौ । नेपालका लागि पाकिस्तानका राजदुत मझर जावेदले गृहमन्त्री रामबहादुर थापा (बादल)सँग आइतवार सिष्टाचार भेटवार्ता गरेका छन् ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको गृहमन्त्री थापाको सचिवालयले जानकारी दिएको छ ।

नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदुत जावेदसँगको विदाई भेटमा गृहमन्त्री थापाले जावेदलाई सफल कार्यकालका लागि शुभकामना दिँदै नेपाल पाकिस्तान सम्बन्ध थप मजबुत बनाउन भूमिका खेलेकामा धन्यवाद दिए ।

भेटमा गृहमन्त्री थापाले नेपाल र पाकिस्तानबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

राजदुत जावेदले नेपाल–पाकिस्तान सम्बन्धको चर्चा गर्दैै आफ्नो नेपाल बसाई सुखद रहेको तथा नेपाल र नेपालीबाट आफूले राम्रो सहयोग र न्यानो माया पाएको बताए ।

उनले आगामी दिनमा नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउँदै लैजान आवश्यक रहेको टिप्पणी गरे ।

राजदुत जावेदले यो क्षेत्रको विकासका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)लाई सक्रिय बनाउन आवश्यक रहेको उल्लेख गर्दै यसका लागि नेपालले समेत भूमिका बढाउनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्