भक्तपुर घटना : बैंकको ऋण तिर्न नसक्दा सुदीपले रोजे परिवारकै अन्त्य गर्ने बाटो !

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ घर भएका ३६ वर्षीय सुदीप अधिकारी भदौ २१ गते श्राद्ध खान आफ्नो ससुराली पुगेका थिए ।

१७ वर्षीय छोरा सुशान्तलाई समेत साथमा लगेका सुदीप त्यसै दिन घर फर्किसकेका थिए । छोरा सुशान्त भने त्यसदिन आफ्नो मामाघरमै बसे । सुदीप दोस्रो दिन छोरालाई लिन ससुराली पुगेका थिए ।

भदौ २२ गतेसम्म आफन्तको सम्पर्कमा रहेका सुदीप र उनको परिवारका सदस्यको शुक्रबार (भदौ २६ गते) साँझ घरभित्रै शव फेला पर्‍यो ।

शुक्रबार साँझ सुदीपकी भाइबुहारी मासु पुर्‍याउन आफ्ना जेठाजु (सुदीप)को घर गएकी थिइन् । घर पुग्दा उनले भतिजा सुशान्तलाई बोलाइन् । जेठानी दिदीलाई पनि बोलाइन् । कसैको आवाज नसुनेपछि ढोका ठेलेर भित्र जाँदा भतिजा सुशान्त, जेठानी दिदी सम्झना र जेठाजु सुदीपको शव भेटेपछि आफ्ना पति सुनीललाई बोलाइन् ।

शुक्रबार साँझ करिब ५ बजे सुदीपका भाइ सुनीलले खबर गरेपछि महानगरीय प्रहरी प्रहरी परिसर भक्तपुर, वृत्त थिमि, महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो र फरेन्सिक विज्ञको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलमा प्रहरी पुग्दा सुदिपको शव घरको कौसीको ढोकामा घोप्टिएको अवस्थामा फेला परेको थियो । उनकी पत्नी ३४ वर्षीया सम्झनाको शव दोस्रो तलाको ओछ्यानमा र १५ वर्षीय छोरा सुशान्तको शव पहिलो तलाको ओछ्यानमा घोप्टिएको अवस्थामा फेला परेको थियो ।

घटनास्थल पुगेको प्रहरीले घरमा रहेको कुकुर समेत मरेको अवस्थामा फेला पार्‍यो ।

घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा शवको प्रकृति हेर्दा सुदीपका छोरा सुशान्त र श्रीमती सम्झनाको केही दिन पहिले नै मृत्यु भइसकेको थियो भने सुदीपको बिहीबारतिर मृत्यु भएको हुनसक्ने बताउँछन् ।

ऋणको बोझ र पारिवारिक तनाव

महानगरीय अपराध महाशाखाका एक अधिकारी सुदीपको परिवारका सबै सदस्यको मृत्युसँग ऋण जोडिन पुगेको बताउँछन् ।

बैंकबाट लिएको ऋणको ब्याज समेत तिर्न नसक्ने अवस्था आएपछि सुदीपको परिवारमा तनाव बढ्दै गएको थियो ।

प्रहरीले गरेको अनुसन्धानका क्रममा सुदीपले आफ्नो घर धितोमा राखेर कृषि विकास बैंकबाट २३ लाख ८५ हजार ऋण लिएका थिए । तर, उक्त ऋणको ब्याज समेत तिर्न नसकेपछि पारिवारिक तनाव बढेको थियो ।

बैंकबाट लिएको ऋणको ब्याज समेत तिर्न समस्या भएपछि सुदीपले २ महिना अगाडि मात्रै ससुरालीबाट २ लाख रुपैयाँ ऋण लिएका थिए ।

ससुरालीबाट ऋण लिएपछि भने उनीहरुको घरमा झन तनाव बढेको सुदीपका छिमेकीले प्रहरीलाई जानकारी दिएका छन् ।

सुदीप बेरोजगार जस्तै थिए भने श्रीमती भने आफ्नो घरको सटरमा पसल चलाउँथिन् । सुदीप दिनदिने मदिरा सेवन गर्न थालेपछि श्रीमान्–श्रीमतीबीच झगडा हुने गरेको छिमेकीले प्रहरीलाई बयान दिएका छन् ।

छिमेकीले प्रहरीलाई दिएको जानकारी अनुसार परिवारका सदस्यको शव फेला पर्नु अगाडि भदौ २३ गतेसम्म उनीहरुको पसल खुल्ला थियो । भदौ २३ गते सुदीप एक्लै पसलमा थिए । तर, त्यसयता उनका परिवारका सदस्य कसैलाई पनि बाहिर नदेखेको स्थानीयले प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीका अनुसार शव परीक्षण प्रतिवेदन (पोस्टमार्ट रिपोर्ट)मा पनि सुदीपकी श्रीमती सम्झना र छोरा सुशान्तको मृत्यु २४ गते बिहान २–३ बजेतिर भएको देखिएको छ ।

प्रहरीका अनुसार सम्झना र सुशान्तको मृत्यु टाउकोमा कुनै ठूलो बस्तुले प्रहार गरिएको समेत देखिएको छ । यस्तै, सुशान्तको घाँटी समेत रेटिएको छ ।

पोस्टमार्टम रिपोर्टमा भएको विवरण उल्लेख गर्दै अनुसन्धानमा संलग्न प्रहरी अधिकारी सम्झना र सुशान्तको हत्या सुतेको अवस्थामा भएको बताउँछन् ।

तर, हत्यामा बाह्य व्यक्ति भन्दा सुदीपकै हात रहेको देखिन्छ । ‘हालसम्मको अनुसन्धानले सुदीपले नै श्रीमती र छोराको हत्या गरेपछि आत्महत्या गरेको देखिन्छ,’ अपराध महाशाखाका अनुसन्धान अधिकारी भन्छन् ।

प्रहरीका अनुसार सुदीपको घर नजिकै सेल्फास नामक विषादीको बट्टा समेत फेला परेको छ । यस्तै, विष घोलीएको कचौरा र एउटा धारिलो हतियार समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

सुदीपले नै धारिलो हतियारको प्रयोग श्रीमती तथा छोराको हत्या गरेको र पछि भन्सामा गएर विषय सेवन गरी आत्यमहत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनास्थलबाट बरामद भएका दसी प्रमाणहरुको फरेन्सिक परीक्षण गर्न केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ । फरेन्सिक परीक्षणको रिपोर्ट भने आइसकेको छैन ।

प्रहरीका अनुसार सुशीलको शव सेतो र सुशान्तको शव पहेँलो बस्त्रले छोपिएको थियो । सुदीपले नै श्रीमती र छोराको हत्या गरी शव कपडाले छोपेको र विरत्तिर पछि आफूले पनि आत्महत्या गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

अपराध महाशाखाका प्रमुख एसएसपी थापा पनि घटनाको प्रकृति हेदा त्यसमा बाहिरका व्यक्तिको संलग्नता नभएको बताउँछन् ।

‘दुई जना (सम्झना र सुशान्त)को हत्या एउटै प्रकृति र प्रकारको छ । धारिलो हतियार प्रयोग भएको छ । तर, सुदीपको फरक छ । बाहिरका व्यक्तिले हत्या गरेको भए सबैको मृत्यु (हत्या) एउटै प्रकृतिको हुन्थ्यो,’ एसएसपी थापा भन्छन्, ‘घरका सामानहरु पनि जस्तोको त्यस्तै छन् । घटना र घटनास्थलको प्रकृति हेर्दा त्यसमा बाहिरका व्यक्ति संलग्न भएको सम्भावना कम छ ।’


प्रतिक्रिया दिनुहोस्