सिन्धुपाल्चोक पहिरो अपडेट: तीन जनाको शव भेटियो, २८ जना बेपत्ता

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ९ : ४२


काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का घुम्थाङको नागपुजे र भिरखर्कमा गएको पहिरोमा ३ जनाको शव फेला परेको छ ।

गएराति परेको अविरल वर्षाका कारण गएको पहिरोमा परि २८ जना बेपत्ता रहेका छन् ।

डिएसपी प्रकाश सापकोटाका अनुसार पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको हो ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

त्यस्तै, सोही क्षेत्रबाट निर्वाचित भएका सभामुख अग्निप्रसाद सापकोटा पनि स्थलमार्गबाट उद्दारका लागि पहिरोग्रस्त क्षेत्र पुगेका छन् ।

उता, जनप्रतिनिधि, जिल्ला तहका नेता तथा सामाजिक अभियन्ताहरु उद्दारका लागि खटिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्