राजा वीरेन्द्रले प्रयोग गर्ने गरेको एभ्रो विमान नारायणहिटीमा राखिँदै

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  १० : ०६


काठमाडौं । त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको ‘एभ्रो विमान’लाई नारायणहिटी दरवारको संग्रहालयमा राख्न लगिएको छ।

आज साँझ उक्त विमानलाई सडकबाट गुडाएर नारायणहिटी लगिएको हो ।

विमानको पखेटा निकालिएको थियो भने अगाडीबाट गाडीले तानेको थियो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा जहाज संग्रहालयमा राखिन लागिएको हो।

नेपाली सेनाका अनुसार सन् १९७१ मा ४६ सिटे उक्त जहाज बेलायतबाट नेपाल ल्याइएको थियो। राजपरिवार र नेपाली सेनाको विशिष्ट तालिममा जहाज प्रयोग भएको थियो।

दुई वर्षदेखि प्रयोग गर्न नमिल्ने भएपछि सर्वसाधरणको अवलोकनका लागि संग्रहालयमा राख्ने प्रक्रिया थालिएको थियो।

सो जहाज राजा वीरेन्द्रले २०३१ सालताका राज्याभिषेकका बेलामा प्रयोग गरेका थिए। तत्कालीन राजाहरुले प्रयोग गर्दै आएको सो जहाज ग्राउण्डेड अवस्थामा विमानस्थलमै थियो ।

सरकारको निर्णयअनुसार जहाजलाई नारायणहिटी संग्रहालयको प्रदर्शनीमा राख्नका लागि लगिएको नारायणहिटी दरवार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

अधिकारीहरुका अनुसार यो एभ्रो विमानलाई संग्राहलयभित्रको ‘बदाम चौर’मा राखिने छ। त्यहाँ केही समयपछि सर्वसाधारणका लागि अवलोकनका लागि खुला हुने छ।


प्रतिक्रिया दिनुहोस्