कोरोना : विज्ञानमा विश्वास गर्ने कि हल्लाको पछि लाग्ने ?

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


कोरोना संक्रमणको तीव्र फैलावटले सबैलाई चिन्तित बनाएको छ । कैयौं व्यक्तिहरु अस्पतालमा बाँच्नको लागि संघर्ष गर्दैछन् । सिङ्गो विश्व आर्थिक संकटमा पर्दैछ र विकासशील मुलुकमा भोकमरी र मनोसामाजिक समस्या दिनप्रतिदिन बढ्दै छ ।

यो महामारीलाई रोक्न विश्वका वैज्ञानिकहरु खोपको अनुसन्धानमा दिनरात लागिरहेका छन् । सबै मुलुकहरु कोरोनाबाट बच्न विभिन्न कोसिस गरिरहेका छन् । यस्तो अवस्थामा केही व्यक्तिहरु कोरोना भाइरससम्बन्धी अनावश्यक, निराधार र कपोलकल्पित भ्रमहरु सामाजिक सञ्जालमार्फत फैलाइरहेका छन् र जनमानसमा अन्योल पैदा गर्दैछन् । कतिपयले यो महामारीलाई बहुराष्ट्रिय कम्पनीको षडयन्त्र, मास्क र स्यानिटाइजर ब्यापारको धन्दा र विश्व स्वास्थ्य संगठनको स्वार्थसँग जोडेर सामाजिक सञ्जालमा अफवाह फैलाउने काम गर्दैछन् । कसैले चीन र अमेरिकाको नयाँ किसिमको युद्धको रुपमा समेत कुप्रचार गर्दैछन् ।

आजसम्मको वैज्ञानिक अध्ययन, अनुसन्धान र तथांकअनुसार कोरोना भाइरस विश्वभरि फैलिएको महामारी हो । यसले १० महिनाभन्दा कम समयमा २ करोड ७० लाख भन्दा बढी व्यक्तिहरुलाई संक्रमित बनाइसकेको छ र झण्डै ९ लाख मानिसको मृत्यु भइसकेको छ । आजसम्म अमेरिका जस्तो विकसित मुलुकमा नेतृत्वको हठका कारण ६४ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् भने झण्डै १ लाख ९३ हजार मानिसहरुले ज्यान गुमाउनु परेको छ । ब्राजिलमा १ लाख २६ हजार भन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । छिमेकी मुलुक भारतमा ४१ लाख भन्दा बढी संक्रमित र ७० हजारको भन्दा बढी मृत्यु हुनुले पनि यो भाइरसको कारणले हुने जोखिमबारे आँकलन गर्न सकिन्छ । कोभिड उच्च संक्रमण दर भएको सरुवा रोग हो । जब कोरोना भाइरस संक्रमित कसैलाई खोकीले सताउँछ, तिनीहरूको थुकको माध्यमबाट धेरै साना कणहरू हावामा फैलिन्छन् । यी कणहरूमा कोरोना भाइरसको किटाणुहरु हुन्छन् । यी भाइरसका कणहरू संक्रमित व्यक्तिको नजिक आउँदा श्वासप्रश्वासको माध्यमबाट तपाईंको शरीरमा प्रवेश गर्छ । कोरोना संक्रमण भएको हातले मुख वा नाकमा छुँदा त्यसैको माध्यमबाट कोरोना सर्ने गर्छ । त्यसैले खोक्दा र हाछ्युँ गर्दा रुमालको प्रयोग गर्ने, आफ्नो हात नधोइकन अनुहार नछुने जस्ता सावधानीका उपायहरुबाट अपनाउन भनिएको हो ।

संक्रमित व्यक्तिसँगको सम्पर्कमा नजानु नै भाइरस फैलिनबाट जोगिने सबैभन्दा महत्वपूर्ण उपाय हो । त्यसकारण मानिसहरूलाई एकै ठाउँमा धेरै मानिसहरूलाई जम्मा नहुन, एक अर्काबाट टाढा रहन, हात नमिलाउनको लागि अनुरोध गरिएको हो । यो संक्रमणले विश्वमै सामाजिक, आर्थिक तथा मानसिक प्रभाव पारेको छ र यसको अहिलेसम्म खोप र प्रभावकारी औषधि तयार भसकेको छैन ।

सम्पर्कमा आएका व्यक्तिको खोज र व्यवस्थित क्वारेन्टाइन
नेपालमा संक्रमितको पहिचान, उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको खोज र अन्य व्यक्तिसँग भौतिक दूरी कायम राख्नु, पिसीआर टेस्ट बढाउनु, आइसोलेसन वार्डको व्यवस्था र उपचार पद्धतिलाई चुस्त बनाएर नै कोरोनालाई नियन्त्रण गर्न सकिन्छ । कन्ट्याक्ट ट्रेसिङमा सुरुको अवस्था भन्दा केही सुधार आए पनि स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारको समन्वयमा अझै कमिकमजोरी छन् र एकले अर्कोलाई दोष दिने काम भइरहेको छ । अरुमाथि दोष थुपार्ने भन्दा सबै मिलेर जोखिम न्यूनीकरणमा लाग्नु नै अहिलेको मूल बिषय हो ।

कन्ट्याक्ट ट्रेसिङको क्षमतालाई सबलीकरण गर्दा मात्रै संक्रमणको फैलावटलाई रोक्न सकिन्छ र महामारी नियन्त्रणमा धेरै सफलता पाउन सकिन्छ । दिनदिनै संक्रमितको संख्या बढ्दै जानु तर क्वारेन्टाइनमा हुनेहरुको संख्या नबढ्नुले कन्ट्याक ट्रेसिङ राम्रोसँग नभएको स्पष्ट पार्छ । सम्भावित संक्रमितहरुको पहिचान र उनीहरुलाई क्वारेन्टाइनमा नराखी संक्रमणको दरलाई कम गर्न सकिन्न । कन्ट्याक्ट ट्रेसिङ गर्दा कतिपय संक्रमितले सही सूचना नदिने, आफ्नो नाम, ठेगाना र सम्पर्क फोन नम्बर गलत दिनुको पछाडि डर, संक्रमित भएको नतिजा आउनेबित्तिकै समाजले गर्ने हेला र सामाजिक बहिष्करणमा परिन्छ भन्ने भयको कारणले हो । सही सूचनाले मात्र रोगको नियन्त्रण गर्न सकिन्छ । संक्रमित र उनका परिवारलाई थप माया, स्नेह र सहयोगले कोरोना संग लड्न मानसिक बल प्राप्त हुन्छ ।

क्वारेन्टाइन र आइसोलेसनका लागि थप ठाउँ पहिचान गरी व्यवस्थित र सुरक्षित बनाउनु हामी सबैको जिम्मेवारी हो । यस बिषयमा राज्य अलि अलमलमा परेको देखिन्छ । लक्षण नभएका संक्रमित व्यक्तिलाई आइसोलेसन केन्द्रमा राख्ने र लक्षण भएका अस्पताल जानैपर्ने बिरामीलाई अस्पतालमा लैजाने अवस्था बन्यो भनेमात्र अस्पतालले थेग्न सक्छ । तर आइसोलेसन केन्द्रमा बसेको व्यक्तिहरुसँग उनीहरुको स्वास्थ्यको अवस्थाको बारेमा स्थानीय निकायले हरेक दिन प्रदेश तथा स्वास्थ्य मन्त्रालयसँग सही सूचना दिनु अनिवार्य हुन्छ । संक्रमित बढी भएको ठाउँमा प्रदेश सरकार र स्थानीय सरकार मिलेर स्वास्थ्य सुरक्षा मापदण्डसहित समुदायमा आइसोलेसनको व्यवस्था गर्नुपर्छ । होम आइसोलेसन बस्न सक्ने सम्भावना अत्यन्त कम ठाउँमा मात्र हुनसक्छ । होम आइसोलेसन बस्न चाहनेहरूका लागि मापदण्ड अनुसार मानसिक र भौतिक सुरक्षासहित नियमित स्वास्थ्य जाँच, परामर्श तथा निगरानी राख्न स्थानीय सरकारसँगको समन्वयमा स्वास्थ्यकर्मीसहितको आवश्यक संयन्त्र बनाउनु पर्छ ।

जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा, पारिवारिक वा साथीभाइसँग जमघटमा विशेष ध्यान नदिँदा खासगरी शहरी क्षेत्रमा संक्रमण बढिरहेको छ । संक्रमितको सम्पर्कमा आएकाहरू स्वाव दिएपछि क्वारेन्टाइनमा नबसेर आफ्ना नियमित भेटघाट र कामकाजलाई निरन्तरता दिने गर्दा संक्रमण बढ्छ । दुःखद पक्ष के छ भने यस्तो गर्नेमा सर्वसाधारण भन्दा पनि समाजका अगुवा वा सार्वजनिक पदमा रहेका पहुँचवालाहरू अग्रपंक्तिमा देखिएका छन् ।

घरबन्दी जीवनबाट आजित
विगत ६ महिनादेखि विद्यालय तथा कलेजहरु बन्द छन् । विद्यार्थीहरु घरभित्र थुनिएका छन् । सहज ढंगले पढ्ने तथा पढाउने वातावरणको अझै केही महिना कुर्नैपर्ने देखिन्छ । कलकारखाना तथा पसलहरु बन्द छन् । सार्वजनिक यातायात ठप्प छन् । होटेल तथा पर्यटन क्षेत्रको दुरावस्था छ । ठूलो तप्का कोरोनाले भन्दा भोकले मरिने हो कि भन्ने अवस्थामा छ । घरबन्दी दैनिकीबाट आजित भएर धेरैलाई बन्द खोले पनि हुन्थ्यो जस्तो लाग्नु स्वभाविक नै हो । तर अव्यवस्थित रुपले बन्द खोल्नेबित्तिकै कोरोनाको संक्रमण बढ्छ । कोरोनाको संक्रमण बढ्यो भने रोजगारीका अवसरहरु सिर्जनामा झन कठिन हुन्छ । तपाई हामीले सोचे जस्तो जनजीवन सहज हुँदैन । यसले गरिबी, बेरोजगारी, आत्महत्या र डिप्रेसनको समस्या हल गर्न सक्दैन । तर हामीले कडाईका साथ जनस्वास्थ्यका मापदण्ड अबलम्बन गरी लकडाउन खुकुलो पार्नेतर्फ भने ध्यान दिनैपर्छ र लामो समयसम्म बन्दाबन्दी गर्नु हुँदैन र सम्भव पनि छैन । जनजीवन विस्तारै सरल र सहज बनाउनुको विकल्प छैन ।

संक्रमितहरुको पहिचान गरेर तिनीहरु सबैलाई आइसोलेसनमा राख्ने, सम्भावित संक्रमितहरुलाई क्वारेन्टाइनको व्यवस्था गर्ने र विदेशबाट आउने सम्भावित संक्रमितहरुलाई निश्चित मापदण्ड पूरा गरेपछि मात्र समुदायमा घुलमिल हुन दिने व्यवस्था गर्ने र बन्दलाई खुकुलो पार्ने गर्नुपर्छ । संक्रमित नभेटिएका पालिकाहरुलाई अरु पालिकासँगको आवातजावत सावधानीपूर्वक खोल्दै जानु पर्छ । सार्वजनिक यातायातलाई सावधानीपूर्वक सुचारू गर्न ढिलो भइसकेको छ । यस्तो व्यवस्थाले मात्र हाम्रो दैनिकी विस्तारै चलायमान हुन्छ ।

हामीले लकडाउन गर्नुको कारणलाई बुझाउन सकेनौं कि ? विगतमा यस बिषयलाई सही ढङ्गले बुझाउन नसक्दा जनस्तरमा समेत थप सतर्कता हुनुपर्नेमा कोरोना नै सकियो जस्तोगरी लापरवाही बढेको देखियो । अनुशासनबिनाको लकडाउन वा कफ्र्यूले कोरोनाको संक्रमण रोक्न सकिदैन । चाडपर्व, रीतिरिवाज, विवाह, ब्रतबन्ध, पितृकर्म जस्ता परम्परामा थप सतर्कता अपनाउने र भाइरसलाई फैलिन नदिन सरल उपाय भनेको अनिवार्यरुपमा मास्कको प्रयोग र एकापसको दूरी कायम गर्नु हो । केही समयपछि नै दशैँ, तिहार, छठ जस्ता चाडपर्व आउँदै छन् । चाडपर्व मनाउने बेला समेत हामी सचेत हुनै पर्छ । भीडभाडमा जाँदा को व्यक्तिमा कोरोना भाइरस छ ? कसैलाई पनि थाहा हुँदैन । त्यस कारण अनावश्यक हिड्डुल गरी आफू र अन्यलाई जोखिममा पार्ने काम गर्नु हुँदैन । जरुरी कामको लागि घरबाहिर जाँदा मास्क अनिवार्य लगाउनु पर्छ र भौतिक दूरी कायम राख्नु जरुरी छ ।

पसल कति बजेसम्म खोल्ने, किनमेल कति बजेसम्ममा गर्ने ? कुनै ठाउँमा ९ बजे सम्ममा भनेको छ त कुनै ठाउँमा ११ बजेसम्म । यसको वैज्ञानिक आधार के हो ? दिनभर खोल्न चाहिँ किन नमिल्ने ? हरेक पसले तथा ग्राहकले मास्क अनिवार्य लगाउने र भौतिक दूरी कायम गर्दै दिनभरि आफ्नो व्यवसाय गर्न दिनुपर्छ । निश्चित मापदण्डमा कडाई गर्दै दैनिकीलाई सहज बनाउँदै भाइरसमाझ बाँच्नुको विकल्प छैन ।

विज्ञान र प्रमाणको आधारमा बहस
कोरोना संक्रमण हुँदैमा सबै जनालाई सिकिस्त बनाउँदैन र ज्यान लिँदैन । अहिलेसम्म कोरोनाविरुद्धको खोप र प्रभावकारी औषधि पत्ता लागेको छैन । आयुर्वेदिक, होमियोप्याथी तथा अन्य चिकित्साका उपचार विधिले कोरोनाको संक्रमण कम हुने वा सञ्चो हुने अहिलेसम्म प्रमाणित भएको छैन । यस बारेमा अध्ययन भइरहेका छन् । त्यसैगरी बेसारपानी, बोझो, गुर्जो, अदुवा, ज्वानो, लसुन, यार्सागुम्बा, कागतीको बारेमा पनि त्यही हो । भविष्यमा प्रमाणित भयो भने हामी सबैको लागि खुशीको बिषय हो । तर अनुभवको आधारमा हाम्रा जडिबुटीहरुले रोगसँग लड्ने क्षमता बढाउन सक्छन् र तिनीहरुको सही प्रयोगले हाम्रो स्वास्थ्यलाई फाइदा गर्छ । तिनीहरुको सेवन गर्दा हाम्रो आत्मविश्वास समेत बढ्छ । तर अधिक सेवनले नकारात्मक प्रभाव पार्छ भन्ने पनि बिर्सनु हुँदैन ।

हालसम्मको ज्ञान र प्रमाणको आधारमा भौतिक दूरी कायम राख्ने, अरु व्यक्तिसँग नजिक जाँदा मास्कको प्रयोग गर्ने, पटकपटक साबुन पानीले हात धुने वा स्यानीटाइजरको प्रयोग गर्ने कुराहरुले मात्र कोरोनाको जोखिमलाई कम गर्ने देखिएको छ ।

अन्तमा,
काठमाडौं उपत्यका र शहरी क्षेत्र कोरोनाको उच्च जोखिममा छन् । सावधानी र सतर्कता अपनाउँ, भौतिक दूरी पनि कायम गरौं र कोरोना आतंक बन्द गरौं । संक्रमितको आत्मबल बढाउन व्यक्ति तथा परिवारलाई सक्दो सहयोग गरौँ । संक्रमितहरुमध्ये अधिकांश सञ्चो भएर आफ्नो दैनिक काममा लागेको पनि हामीले देखिसकेका छौं भने अन्य रोग भएका र कमजोर मन भएका व्यक्तिको कोरोना भएको खबर सुन्नासाथ ढलेर मृत्यु भएको दुःखद समाचार पनि हामीले पढेका छौं । कोरोनाको संक्रमण हुँदाबित्तिकै मरिन्छ भन्ने र कोरोना छैन भन्ने दुबैखालका अतिवादीहरुको कारण कोरोना आतंक बनेको हो ।

सबैजना सचेत बनौं । तपाई हामी उच्च जोखिममा छौं । यो धेरै संवेदनशील विषय हो । आफू र आफ्नो समुदायलाई कोरोना लाग्नबाट बचाऔं । हल्लाको पछि नलागौं । यो रोगको सामना गर्न सम्भव छ । आफू, आफ्नो परिवार तथा अत्यन्तै जोखिममा रहेकालाई सुरक्षित राख्न सरल उपायहरूद्वारा सम्भव छ । मास्क, भौतिक दूरी र साबुनपानीसहित जनजीवनमा फर्कौं । कसैले कागले कान लग्यो भन्दैमा कागको पछि नलागेर आफ्नो कानको सुरक्षा आफै गरौँ ।


प्रतिक्रिया दिनुहोस्