हिमालयले सार्वजनिक गर्‍यो नियमित एवम् चार्टर्ड उडानको भाडादर

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ७ : ३८


काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित एवम् विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउन विभिन्न मुलुकबाट गरिने उद्धार चार्टर्ड उडानको भाडादर सार्वजनिक गरेको छ ।

जसअनुरुप दमामका लागि ४६५ अमेरिकी डलर, रियादको ४६५, ढाकाको १६५, कुवेतको ३९२ डलर तोकिएको छ ।

त्यस्तै बहराइन्को ४१०, मालेको ४८०, सिङ्गापुरको ५२० र स्लामाबादको ३५० डलर कायम गरिएको छ । यी भाडाहरू कर र एजेन्सी कमिशनसहितको हो ।

हिमालयले जुन १६ देखि अगष्ट ३१ तारिखसम्मय सम्म ९४ वटा उद्घार उडानमार्फत १५ हजार ६३५ नेपालीलाई स्वदेश फिर्ता गरेको उल्लेख गर्दै विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू हुने जानकारी दिएको छ ।

कुनै ट्राभल एजेन्सीले प्रकाशित भाडादरभन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

हिमालयले नियमित उडान हुने काठमाडौं–अबुधाबी र काठमाडौं क्वालालम्पुर गन्तव्यमा हुने उडानको भाडादर निर्धारण गरेको छ ।

उक्त भाडादर सम्पूर्ण करसहितको छ तर यसमा एजेन्सी सेवा शुल्क समावेश गरिएको छैन । ट्राभल एजेन्सीले उपयुक्त सेवा लागू गर्न सक्दछ ।

सरकारले सेप्टेम्बर १ देखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने निर्णय गरेपश्चात हिमालय एअरलाइन्सले सहजै पिसिआर उपलब्ध गन्तव्यहरू छोङछिङ, क्वालालम्पुर र आबुधाबीको उडान सञ्चालन गर्न अनुमति प्राप्त गरेको छ ।

पिसिआर परीक्षणको उपलब्धता कठिन भएका अन्य उडान वृत्तखण्डमा सरकारको निर्णय अनुरुप नै चार्टर उडानमार्फत नेपालीलाई स्वदेश फिर्ता गर्ने कार्य सुचारु रहने बताइएको छ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कोभिड–१९को रोेकथामका लागि सामूहिक लडाइँमा कम्पनीले नागरिकको स्वदेश फिर्ता, कोभिड–१९ को उपचारका लागि स्वास्थ्य उपकरण तथा औषधिको ढुवानी गरी नागरिक र सरकारलाई सहयोग गरेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्