कोराना विजेतालाई पुष्पगुच्छाबाट सम्मान

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ६ : ११


बुटवल । समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कतिपय पालिकामा कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तले फरक व्यवहार गरिएका गुनासा आइरहेका बेला बुटवलमा होम आइसोलेशनमा बसेर निस्किएको परिवारलाई सम्मान गरिएको छ।

बुटवल उपमहानगरपालिका–१३ झोलुङ्गेपुल, हरियाली पथ निवासी प्रेमनारायण पोखरेलको परिवारलाई उपमहानगर सदस्य विष्णुकुमारी शर्मा र टोल समितिका अध्यक्ष पीताम्बर भण्डारीसहित टोलवासीले आज पुष्पगुच्छा प्रदान गरी कोरोना जितेकामा नगरका तर्फबाट बधाई तथा शुभकामना दिए।

गत साउन २९ गते प्रेमनारायणका छोरा लेखनाथ र बुहारी विनितामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनीहरु घरमै आइसोलेशनमा बसेका थिए।

आइसोलेशनमा रहँदा समेत टोलका अगुवा तथा छिमेकीबाट राम्रो सहयोग पाएको र सबैले स्वास्थ्यलाभको काम गरेकामा पोखरेलले सबैप्रति आभार व्यक्त गरे।

उपमहानगर सदस्य शर्माले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाका विधि अवलम्बन गर्ने हो भने कोरोना सङ्क्रमणबाट बच्न सकिने भएकाले थप सतर्क रहन आग्रह गरे।

“सतर्क रहँदारहँदै पनि कोरोना लाग्न सक्छ तर लाग्यो भनेर छिमेकी र आफन्त नै टाढिने हो भने सङ्क्रमितको मनोबल खस्किन्छ । त्यसैले उहाँहरुलाई हौसला बढाउन जरुरी छ”, उनले भने, “सङ्कमण हुँदा मात्रै होइन निको भइसकेपछि पनि समाजमा घुलमिल हुन गाह्रो नहोस् भन्नाका लागि टोलको यो प्रयास पनि सह्रानीय छ ।”

आइसोलेशनमा रहेका बेला उपमहानगरपालिकाका प्रमुख, उपप्रमुखसहित जनप्रतिनिधि घरमै आएर स्वास्थ्यलाभको कामना गर्दा थप हौसला मिलोको बताउँदै पोखरेल परिवारले उच्च मनोबलका साथ स्वास्थ्यलाभ गर्न सफल भएको अनुभव सुनाए।

पछिल्लो समय बुटवलका विभिन्न वडामा कोरोना भाइरस सङ्क्रमण बढेसँगै हरियाली पथका दुई परिवारका सदस्यलाई कोरोना पुष्टि भएको थियो।

पोखरेल परिवारले स्वास्थ्यलाभ गरे पनि अर्को परिवारका सदस्य भने होम आइसोलेशनमै छन्।

टोलमा सङ्क्रमित भएका परिवारको दैलामै पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिने काम निरन्तर भइरहेको टोल विकास समितका अध्यक्ष भण्डारीले बताए।

टोलमा कोरोना सङ्क्रमण हुँदैमा कुनै पनि सदस्यले त्यस्ता परिवारका सदस्यप्रति हेयभाव नराखून् भन्ने उद्देश्यले सबैलाई सचेत बनाइएको छ।

“भोलि जोसुकैलाई पनि सङ्क्रमण हुन सक्छ, त्यसैले सबैले सबैलाई सहयोग, आदर र सम्मान गर्न जरुरी छ”, स्थानीयवासी जमुना सुवेदीले भने।-रासस


प्रतिक्रिया दिनुहोस्