प्रहरी हिरासतमा थुनुवा मृत्यु प्रकरण– रौतहट प्रहरी प्रमुखको जिम्मेवारी खोसियो

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ५ : १६


काठमाडौं । इलाका प्रहरी कार्यालय गुरुडाको हिरासतमा रहेका थुनुवाको हिरासतमै मृत्यु भएको प्रकरणमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखको जिम्मेवारी खोसिएको छ ।

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख रहेका एसपी रविराज खड्काको जिम्मेवारी खोसेर उनको ठाउँमा एसपी सिद्धीविक्रम शाहलाई पठाएको छ । एसपी खड्कालाई प्रहरी प्रधान कार्यालय नक्सालमा तानिएको छ ।

रौतहटको गरुडा नगरपालिका–८ जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या अभियोगमा इलाका प्रहरी कार्यालय गरुडाले स्थानीय १९ वर्षीय विजय महरालाई पक्राउ गरेको थियो ।

प्रहरी हिरासतमा रहकै अवस्थामा उनको अवस्था गम्भीर भएपछि उपचारका लागि वीरगन्ज लगिएको थियो । महराको वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरीले हिरासतमा चरम यातना दिएका कारण महराको मृत्यु भएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए ।

घटनाका सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन टोली नै गठन गरेको थियो । गृह मन्त्रालयको छानबिन टोलीले प्रहरीबाट यातना दिइएको देखाएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय रौहटको सिफारिसमा १ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र २ जना हवल्दारलाई निलम्बन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थियो ।

अनुसन्धान प्रक्रियालाई निस्पक्ष बनाउनकै लागि हालका एसपी खड्काको सरुवा गरी उनको ठाउँमा नयाँ एसपी शाहलाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस्