ज्यापु समाजले भन्यो– अराजक समूहले मच्छिन्द्रनाथको रथ तान्न खोज्यो

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ३ : ४०


ललितपुर । ज्यापु समाजले आफ्नो र स्थानीय प्रशासनको अनुमतिविनै केही अराजक समूहले रातो मच्छिन्द्रनाथको रथ थानेको बताएको छ ।

बिहीबार दिउँसो बसेको समाजको बैठकले अनुमतिविनै पुल्चोकमा रथ तानिएको विषयमा आपत्ति समेत जनाएको छ ।

समाजका अध्यक्ष चन्द्र महर्जनका अनुसार केही अराजक व्यक्तिले रथ तानेका कारण रथको सुरक्षाका लागि ५ सय जना स्वयंसेवक परिचालन गर्ने निर्णय समेत भएको जानकारी दिए ।

‘यो महामारीको अवस्थामा हामीले छोटो विधि अपनाएर प्रशासनको अनुमति मै रथ तान्ने भनेका थियौं,’ ज्यापु समाजका अध्यक्ष महर्जनले भने, ‘तर वैठक बस्नुभन्दा पहिले नै केही उत्श्रृंखल तथा अराजक व्यक्तिको समूहले रथ तानेको हाम्रो ठम्याइ छ ।’

अध्यक्ष महर्जनका अनुसार रथ यात्राका विषयमा आवश्यक निर्णय गर्न समाजको बैठक अहिले पनि चलिरहेको छ ।

तर, बिहीबार बिहानै केही स्थानीय युवाहरुले ललितपुरको पुल्चोकमा रहेको मच्छिन्द्रनाथको रथ तान्न खोजेको थिए ।

कोरोना संक्रमणको जोखिम कम गर्न जारी गरिएको निषेधाज्ञाको उल्लंघन गर्दै रथ तान्न थालिएपछि प्रहरीले रोकेको थियो ।

प्रहरीले रथ तान्न रोकेपछि पुल्चोकमा रथ तान्न गएका स्थानीय र प्रहरीबीच केही समय झडप समेत भएको छ ।

रथ तान्न गएका युवाहरुले प्रहरीको एउटा उम्बुलेन्स जलाइ दिएका छन् भने गाडीमा समेत तोडफोड गरेका छन् ।

रथ तान्न गएकाहरुले प्रहरीमाथि ढुङ्गा मुडा प्रहार गरेपछि प्रहरीले अश्रु ग्यास समेत प्रहार गर्नु परेको थियो । रथ तान्न गएकाहरुले हानेको ढुङ्गा लागेर १ जना ट्राफिक प्रहरी घाइते भएका जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्