रौतहटमा पूजारीको हत्या– ब्याजको पैसा र मदिरा पसल प्रमुख कारण

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ३ : १८


काठामाडौं । रौतहटमा एक हनुमान मन्दिरका पूजारीको हत्या ब्याजमा लगाइएको पैसा र मदिराको बेचबिखनका कारण भएको खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पूजारीले ब्याजमा लगाएको पैसा लिँदा भएको विवादका कारण उनको हत्या भएको खुलेको हो ।

रौतहटको माधवनारायण नगरपालिका–२ खैस्रैया चौकस्थित हनुमान मन्दिरका पूजारी ६५ वर्षीय श्रीराम साहको भदौ ३ गते अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।

लामो समयदेखि हत्याराको खोजीमा रहेको प्रहरीले केही दिन अगाडि २ जनालाई पक्राउ गरेपछि हत्याको प्रारम्भिक कारण खुल्नमा आएको हो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले पूजारी साहको हत्या आरोपमा भारतको बिहारबाट २ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा देवाही गोनाही नगरपालिका–१ करुनिया बस्ने ३६ वर्षीय नरेश भन्ने राम नरेश राउत पटेल र २८ वर्षीय बाल कुमार पटेल रहेका छन् ।

उनीहरुले दिएको बयान र स्थानीयसँग सोधपुछको आधारमा समेत पूजारी हत्याको कारण उनले ब्याजमा लगाएको पैसा र मन्दिर नजिकै रहेका मदिरा पसल भएका खुल्नमा आएको छ ।

प्रहरीका अनुसार हनुमान मन्दिरका पूजारी साहले पक्राउ परेका नरेश भनिने राम नरेश राउत पटेलका बुवालाई ब्याजमा पैसा ऋण दिएका थिए । तर, ऋण चुक्ता गर्ने क्रममा पूजारी र राम नरेशका बुवाबीच विवाद भएको थियो ।

राम नरेश तथा उनको समूह र पूजारी साहबीच विगतदेखि नै विवाद हुँदै आएको थियो । धार्मिक क्षेत्र मन्दिरलाई असर पर्ने गरी हुने व्यवसाय र व्यवहारको पूजारी विरोध गर्ने गर्थे । प्रहरीका अनुसार पूजारीको हत्या हुनुभन्दा ३ दिन अगाडि पनि पूजारी र राम नरेशका बुवाबीच विवाद भएको थियो ।

पूजारीले मन्दिर नजिकै सञ्चालनमा रहेका ३ वटा मदिरा पसल हटाउनुपर्ने माग पनि गर्दै आएका थिए । त्यसबीचमा राम नरेशसहित उनका केही साथीहरुले पूजारीलाई धम्क्याउने समेत गरेका थिए ।

तर, पूजारीले आफ्नो ‘फरक मत’ राख्न नछाडेपछि उनीहरुले हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार राम नरेशले नै कटुवा पेस्तोल प्रहार गरी पूजारी साहको हत्या गरेका हुन् । हत्या भएको दिन बाल कुमार पटेलले घटनास्थलको रेकी गर्ने काम गरेका थिए ।

घटनामा अन्य व्यक्ति पनि संलग्न रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीले पक्राउ परेका २ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । उनीहरुविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत रौतहटबाट १० दिनको म्याद थप भएको छ ।


रौतहटमा हनुमान मन्दिरका पूजारी हत्या प्रकरण– बिहारबाट २ जना पक्राउ


प्रतिक्रिया दिनुहोस्