कोरोनाका कारण डा.केसीद्वारा सत्याग्रह स्थगन

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  २ : ३९


वरिष्ठ डा. गोविन्द केसीले कोरोनाका कारण आफ्नो सत्याग्रह स्थगित गरेका छन्।

बिहिबार एक विज्ञप्ति जारी गर्दै जुम्लामा पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढेको जनाउँदै पुनः अनसन स्थगित भएको जनाएका छन्।

उनले गत साउत ३२ गते पत्रकार सम्मेलन गरी यही भदौ ११ गतेदेखि जुम्लामा अनशन बस्ने घोषणा गरेका थिए।

उक्त दिनसमेत सत्याग्रह बस्ने वातावरण नमिलेपछि स्थगित गरेका थिए।

डा गोविन्द केसीको विज्ञप्ति

हाल चलिरहेको कोभिड महामारीले विकेन्द्रित र गुणस्तरीय स्वास्थ्य सेवा कति महत्वपुर्ण छ भन्ने कुरा प्रष्ट पारेको छ । हाल नेपालमा विद्यमान् स्वास्थ्य प्रणाली कति नाजुक छ, हाम्रो सार्वजनिक स्वास्थ्य सेवा कति अपर्याप्त छ र निजी स्वास्थ्य सेवा कति महंगो छ भन्ने यो महामारीले छर्लंग देखाएको छ । रोग लाग्नै नदिइ रोकथाम गर्ने सामुदायिक चिकित्सा र जनस्वास्थ्यको अवस्था कति नाजुक छ भन्ने पनि अब प्रष्ट भएको छ।

देशको सत्ता चलाउने व्यक्तिले नै नेपालीको इच्छाशक्तिकै भरमा संक्रामक रोगको महामारी रोकिन्छ भन्ने आश गरेबाट जनस्वास्थ्यका हिसाबले हामी कति पछाडि छौं भन्ने देखाउँछ। सारा देशको ध्यान आज कोरोना महामारीतिर हुँदा एकतिर अरु रोगका बिरामीको उपचारै नपाइ मृत्यु भइरहेको छ भने लकडाउन र निषेधाज्ञाले अर्थतन्त्र ठप्प हुँदा लाखौं मानिसहरु भोकै परेका छन्।

यो अवस्थामा पनि स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रमा सुधार र सुशासनका लागि संघर्ष जारी राख्नु आवश्यक हुन्छ । त्यसका लागि मिडिया र नागरिक समाजको भुमिका प्रमुख हुन्छ । कोभिड महामारी नियन्त्रण नै प्रभावित हुने गरी सत्तासीन व्यक्तिहरुले निर्लज्ज रुपमा गरेको अरबौंको भ्रष्टाचार उदांगो पानै मिडियाले खेलेको भुमिका सराहनीय छ । यद्यपि नैतिकता गुमाइसकेको र लाज पचाइसकेको सरकार अद्यापि प्रमाणित भ्रष्टहरुलाई बचाउन उद्यत् छ । हाम्रा तर्फबाट हामीले शुरु गरेको सुधार अभियान पनि जारी छ । पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु शुरु गर्नुपर्नेलगायतका मागहरु राखेर हामीले आजदेखि सत्याग्रहको घोषणा गरेका थियौं । हाम्रा मागहरुमध्ये सबैजसो विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने थिए । तर सरकारले माग पूरा गर्नको सट्टा उल्टै हक अधिकारको माग गर्ने जुम्लावासीहरुलाई धम्क्याउने र दमन गर्ने काम गरेको छ । प्रधानमन्त्री ओलीको केन्द्र सरकारदेखि कर्णालीको प्रदेश सरकार समेत जायज मागसहितको हाम्रो आन्दोलनलाई दमन गर्न लागी परेका छन् ।

यस्तो परिस्थितिमा कोभिड महामारी फैलँदै जाँदा जुम्लाबाट हाम्रो अभियानलाई निरन्तर साथ दिइरहने आम नागरिक र जुम्लावासीको विशेष आग्रहलाई मनन गर्दै हामीले सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरेका छौं । सरकारले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला पुनः सत्याग्रह शुरु गर्ने जानकारी पनि गराउँछौं । साथै बारम्बार साबुन पानीले हात धुन, बाहिर निस्कँदा नियमित मास्क लगाउन तथा सामाजिक दुरी कायम गर्न सबै नेपालीहरुलाई आग्रह गर्दर्छौं । यस्तो शिक्षा सबैले बुझ्ने भाषामा निरन्तर दिइरहेर संक्रमणको फैलावट रोक्दै बारम्बार लगाइएका निषेधाज्ञा बन्द गर्न सरकारको ध्यानाकर्षण गराउँछौं । यस्तो जोखिमको समय निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै स्वास्थ्यकर्मिलाई नियमित सेवा–सुविधाका साथै जोखिम भत्ता दिलाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं ।

डा.गोविन्द केसी
जुम्ला


प्रतिक्रिया दिनुहोस्