कर्फ्यु नलगाएकोमा उपत्यकाका मेयरहरु असन्तुष्ट, आदेश सच्याउन माग

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  १ : ०२


काठमाडौं । काठमाडौं उपत्यकाका मेयरहरुको संगठन ‘उपत्यका नगरपालिका फोरम’ले उपत्यकामा कडा खालको निषेधाज्ञा अर्थात कर्फ्यु नलगाएकोमा असन्तुष्टि व्यक्त गरेको छ।

संघीय सरकारबाट जारी निषेधाज्ञा झन् खुकुलो गराइएको भन्दै उक्त फोरमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

उपत्यका नगरपालिका फोरमले यसअघि बुधबार ३ वटै जिल्लाका सिडिओहरुलाई कोरोनाको महामारी नियन्त्रणमा लिन थप १५ दिन कर्फ्यु लगाउन सुझाव दिएको थियो।

तर, सिडिओहरुले गृहको निर्देशनमा निषेधाज्ञामा केही खुकुलो पारे। जसप्रति मेयरहरु भने असन्तुष्ट बनेका छन्।

मेयर फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बिहिबार संयुक्त विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएका छन्।

‘भदौ १८ गतेदेखि लागु हुनेगरी थपिएको निषेधाज्ञामा दिउँसो दुई बजेदेखि साँझ ९ बजेसम्म विकास निर्माणका पसल–व्यवसाय सञ्चालन गर्न सकिने बुँदामा गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले गर्दा निषेधाज्ञाको खासै अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राखी अतिआवश्यक बस्तु र सेवालाई विहान ११ बजेसम्म मात्र खोल्न सकिने सम्मलाई कायम राख्दै अन्य समयमा पसल–व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गरिन्छ।’

मेयरहरुले सबैभन्दा धेरै असन्तुष्टि एउटा बुँदामा जनाएका छन्।

जसमा भनिएको थियो, उपत्यका भित्र विकास निर्माणसँग सम्वन्धित पसल–व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग गर्ने सवारीसाधन दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने तर, नेपाल सरकारले तोकेको स्वास्थ्य सम्वन्धि मापदण्ड अनिवार्य पालना गर्नुपर्ने।

यही कारण उपत्यकामा संक्रमण थप फैलिन सक्ने जोखिम रहेको मेयरहरुको भनाई छ।

 

 

उपत्यकामा निषेधाज्ञाले भएन, कर्फ्यु लगाउन मेयरहरुको सुझाव

 


प्रतिक्रिया दिनुहोस्