आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ७ : १७


काठमाडौं । आज देशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पनि गण्डकी र कर्णालीका केही स्थानमा हल्का पानी परिरहेको छ ।

पूर्वी तराईका एक–दुई जिल्लामा घाम देखिएको छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया बदली (घाम नलागेको, आकाश बादलले ढोकेको) छ ।

दिउँसो देशका केही स्थान (यो पूर्वदेखि पश्चिमसम्मै पर्छ) मा बदली रही केहि स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै राति पनि देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

आगामी २४ घण्टा (शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ– बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।


प्रतिक्रिया दिनुहोस्