उपत्यका छिर्न पीसीआर रिपोर्ट नेगेटिभ अनिवार्य

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ९ : १३


काठमाडौं । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य पीसीआर रिपोर्ट नेगेटिभ चाहिने निर्णय गरेको छ।

अत्यावश्यक कामका लागि काठमाडौँ आउनुपर्ने व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने आदेशमा जनाइएको छ। स्वाब परीक्षण गराएका व्यक्तिहरु रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा बस्नुपर्नेछ। कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिसमेत स्वाब परीक्षण गरेका व्यक्तिको रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा बस्नुपर्नेछ।

आजको बैठकले केही सेवालाई सहजीकरण गर्दै अर्को एक साताका लागि अत्यावश्यक र तोकिएबाहेकका गतिविधि रोक्ने गरी निषेधको आदेश जारी गरेको हो।

औषधि, खाद्यवस्तु, पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल आउने जाने बिरामी, दाहसंस्कारका लागि अनिवायए सहभागी हुनुपर्नेजस्ता कामलाई सरकारले अति आवश्यक सेवामा राखेको छ । प्रशासनको निर्णयअनुसार यी कामका लागि काठमाडौं आउनेसँग पनि अनिवार्य पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ।

कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले रोकथाम गर्न जरुरी रहेको निष्कर्षका साथ पुनः निषेधको आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

यसअघि भदौ ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त आदेश भदौ १० गते राति १२ बजे सकिएपछि आज राति १२ बजेसम्मका लागि त्यसलाई पुनः निरन्तरता दिइएको थियो।

आज उक्त समय सकिन लागेकाले केही सेवा सञ्चालन गर्न पाउने गरी पुनः एक साता निषेधको आदेश थपिएको हो । यही भदौ २४ गते राति १२ बजेसम्म उक्त आदेश कायम रहनेछ। सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा सरकारको निर्देशनबमोजिम आदेश जारी गरिएको हो।

 


प्रतिक्रिया दिनुहोस्