कोरोना कहरले नछोएको छन्त्यालको भेडीगोठ दैनिकी

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ५ : ४१


अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइएको छ। गोठबाट यसो हेर्दा धौलागिरी हिमाल आँखै अगाडि आएर उभिएजस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी भेडाबाख्राको बथानले सेताम्मे भएको छ । गएको २ वर्षदेखि भेडापालनमा होमिएका हिमबहादुर छन्त्याल (वान)यही भेडीगोठ सम्हालेर बसेकाछन् ।

धवलागिरि आधार शिविर नजिकै पर्ने रुवाचौरको त्यही आकर्षक फाँटमा छ छन्त्यालको भेडीगोठ । करिब दुईदशक लामो वैदेशिक रोजगारिलाई त्यागेर स्वदेश फर्किएका छन्त्यालले शहरको सुखसयललाई त्यागेर आफ्ना पुर्खाले पसिना बगाएको थलोमा फर्किएका थिए ।

जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा जन्मिएका छन्त्यालको परिवारको बसोबास पोखरामा रहे पनि वैदेशिक रोजगारी त्यागेर फर्किएका उनले आफ्ना पुर्खाहरुले जीवन विताएको जङ्गल र भिरपाखाहरुको परम्परागत गोठ नै पछ्याउँदै छन् ।

धवलागिरि गाउँपालिका– ५ र रघुगङ्गा गाउँपालिका–८ को सीमा क्षेत्रमा पर्ने च्यामली ९रुवाचौर० आधार शिविरमा भेडीगोठ राखेका छन्त्याललाई विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले छोएको छैन ।

शहरी क्षेत्रमा कोरोना नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञाका कारण घरबाट बाहिर निस्कनसमेत हम्मेहम्मे पर्ने गरे पनि बस्तीदेखि घण्टौँ टाढाको दूरीमा गोठ राखेका उनको दैनिकीलाई महामारीको प्रभावले छोएको छैन ।

बिहान उठेपछि भेडाबाख्राको सङ्ख्या बुझ्ने, दूध दुहुने, खाना पकाएर खाने र भेडाबाख्रा चराउन लैजाने उनको नियमित दैनिकी हो । लेकको बुकी र पाखा पखेरामा भेडाबाख्रा चराइसकेपछि पुनः गोठमै फर्कनेबाहेकको अर्को केही हुँदैन उनको दैनिकी ।

विकासको तीव्र गतिमा अघि बढेको सिङ्गापुर र मलेसियामा करिब २ दशक लामो समय बिताएका ४० वर्षीय छन्त्यालले अहिले दुर्गम र अति विकट क्षेत्रमा गोठको दैनिकीमा आफूलाई घुलमिल गराइसकेका छन् ।

न फोन, न इन्टरनेट नत रेडियोको नै पहुँच छ । अनकन्टार घनघोर जङ्गल र पहाडहरुमा उहाँले कठिन तर आफ्नै रहरको दैनिकी बिताइरहेका छन् ।

१्२ महिनामा गोठको खर्च लिन गाउँ झरेपछि मात्रै थाहा पाउछन् उनले विश्वको गतिविधि । अनि फेरि सुरु हुन्छ आफ्नै दुनियाँ । यो क्रम विगत २ वर्षदेखि चलिरहेकै छ । विदेशमा आर्जन गरेको रकमसहित ऋणसमेत गरेर २ वर्षअघि करिब ५० लाख लगानी गरेर भेडापालन सुरु गरेका छन्त्यालको गोठमा अहिले झण्डै ५ सय भन्दाबढी भेडाबाख्रा रहेका छन् । आफूबाहेक २ जना हेरालु राखेका छन्त्यालले आफ्नो पुर्खाहरुले अंगालेको तर पछिल्लो पुस्ताले बिर्सदै गएको भेडापालन पेसालाई अवसर र चुनौती दुवैरुपमा लिएको बताए ।

यस क्षेत्रमा अहिले करिब ८ वटा भेडीगोठ छन । धवलागिरिको मल्कबाङ, मलम्पार, खिबाङ, मराङ र रघुगंगाको पात्लेखर्क, दुवाडी, रायखोर, पाखापानी, चिमखोला लगायतका व्यक्तिहरुको च्यामली चौर, आधार शिविर, ऋरु, चौराबन, नयाँवन, रिखार र ताङ्गे, भाङ्गे फाँट क्षेत्रमा भेडीगोठ रहेका छन् ।

धवलागिरिको मुदी र गुर्जामा समेत व्यावसायिक भेडापालन हुदै आएको छ । वेँसीदेखि धवलागिरिका आधार शिविरसम्म नै भेडीगोठ सारिरहने प्रचलन रहेको छ । तर यसपटक भने केही गोठहरु आधार शिविर पुगेपछि बीच बाटोमा भिषण पहिरो खसेकाले केही गोठहरु आधार शिविरदेखि तल नै रोकिएको भेडीगोठका हेरालु कालु विकले बताए ।

भेडीगोठको सुरक्षामा कुकुर

हरेक गोठमा कम्तीमा २ वटा कुकुर छन् । भेडीगोठका हेरालुका लागि कुकुर नै सारथी हुन् । जङ्गल र पाखा पखेरमा गोठ रहने भएकाले जङ्गली जनावरबाट भेडाबाख्रा र गोठकोसमेत सुरक्षाको प्रमुख जिम्मेवारी कुकुरकै रहने गर्छ । भेडीगोठमा ‘भोटे’ जातको कुकुरलाई विशेष महत्व दिएर पाल्ने गरिन्छ ।

आवाज ठूलो हुने, जङ्गली जनावरसँगसमेत नडराउने भएकाले भेडीगोठका लागि भोटे कुुकुर पहिलो रोजाइमा पर्छ । गोठमा कुकुरलाई स्याहारसुसार र आहारमा समेत बढी ध्यान दिनुपर्ने गोठालालाई थप जिम्मेवारी हुन आउँछ ।

गोठदेखि चरन क्षेत्रसम्म कुकुरले नै भेडाबाख्रालाई पछ्याएर जाने गर्छन् भने बेलुकी आफ्नै गोठमा फर्किएर सुरक्षा दिने कुकुरमा थप रोचक विशेषता रहेको हुन्छ ।

गोठमै पुग्छन् व्यापारी

परम्परागतरुपमा भेडाबाख्रापालन गर्दै आएका गोठमा हिजोआज व्यापारी खरिदका लागि गोठमै पुग्ने गर्छन् । चाडपर्वको समयमा ठूलो सङ्ख्यामा भेडाबाख्रा बिक्री हुने भए पनि अन्य मौसममा समेत व्यापारी गोठमै आउने भएकाले उत्पादन भएका भेडाबाख्राको बजारीकरणमा समस्या नरहेको छन्त्यालको भनाइ छ ।

वार्षिकरुपमा २ सयको हाराहारीमा भेडाबाख्रा बिक्री हुने उनको भनाइ छ । भेडीगोठको अत्यासलाग्दो दैनिकीलाई सम्हालेका छन्त्यालले भेडीगोठमै व्यापारी आउने भएकाले यस पेसाप्रति थप हौसला थपिएको बताए। -रासस


प्रतिक्रिया दिनुहोस्