काठमाडौंमा थप १५ दिने निषेधाज्ञा जारी गर्न मेयर फोरमको माग

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  २ : १०


काठमाडौं । काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले कोरोना भाइरसको संक्रमण जोखिम कम गर्न थप १५ दिन निषेधाज्ञा जारी गर्न सुझाव दिएको छ ।

भर्चुअल माध्यमबाट बसेको मेयर फोरमको बैठकले कोरोना संक्रमणको जोखिम घटाउन अझै १५ दिन निषेधाज्ञा जारी गर्नुपर्ने सुझाव दिएको फोरमका सचिव एवम् ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

मेयर फोरमले भदौ ३ गतेदेखि जारी गरिएको निषेधाज्ञाका कारण थप व्यक्तिमा कोरोना संक्रमण फैलिन नपाएको पनि ठहर गरेको छ । अब पनि संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गर्नुपर्ने फोरमले निर्णय गरेको छ ।

साथै, निषेधाज्ञाबाट सम्पन्न परेका विपन्न बर्गको सहजताका लागि वडा कार्यालयबाट सेवाहरु प्रदान गरिने निर्णय गरिएको पनि फोरमका सचिव श्रेष्ठको भनाइ छ ।

निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिले आफू बसेको वडा कार्यालयमा सम्पर्क राखे समस्या समाधान हुने उनको भनाइ छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

जारी निषेधाज्ञाको समयावधि बुधबार मध्यराति १२ बजेदेखि समाप्त हुन गइरहेको अवस्थामा त्यससम्बन्धमा थप निर्णय भने भइसकेको छैन ।


प्रतिक्रिया दिनुहोस्