निषेधाज्ञा बारे उपत्यकाका सीडीओले गृहलाई दिए दुई विकल्प

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ३ : ३३


काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप गर्नेवा परिवर्तन गर्ने विषयमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले साझा धारणा तयार पारेका छन्।

स्थानीय निकाय, उद्योग वाणिज्य संघ, स्वास्थ्य क्षेत्रलगायत सबै सरोकारवालासँगको परामर्शपछि आफूहरूले साझा धारणा तयार गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

उनका अनुसार दुई विकल्पमा छलफल भएको छ। पहिलो, हालकै निषेधाज्ञाको स्वरूपलाई जस्ताको तस्तै अघि बढाउने। दोस्रो, निषेधाज्ञाको स्वरूपलाई परिवर्तन गर्ने।

‘दुवै विकल्पमा धारणा बनेको छ, हामी गृह मन्त्रालयमा यो धारणा भोलि लैजान्छौं,’ दाहालले भने।

गृहले अनुमोदन गरेपछि निषेधाज्ञाबारे तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी बसेर निर्णय लिने उनले बताए।

मंगलबार १२ बजेदेखि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी भर्चुअल छलफलमा थिए।
कोरोना संक्रमितको संख्या अत्यधिक बढेपछि काठमाडौं उपत्यकामा भदौ ४ गतेदेखि निषेधाज्ञा जारी छ।

 


प्रतिक्रिया दिनुहोस्