उपसभामुखका आमाछोरा नै कोरोना सङ्क्रमण मुक्त

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ७ : ००


काठमाडौं । कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहेकी वागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना भाइरस संक्रमणमुक्त भएकी छन् ।

उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जालमार्फत आफू र छोराको समेत कोरोनाको पुनःपरीक्षण गर्दा निगेटिभ रिपोर्ट आएको जानकारी दिएकी छन् ।

उपसभामुख तामाङले आफ्नो स्वास्थ्यको चिन्ता र सद्भावसहित स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन् ।

तामाङले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सतर्कता नै मुख्य उपाय रहेको बताउँदै सङ्क्रमण भइहालेमा आतङ्कित नभई स्वास्थ्यसम्बन्धी आवश्यक विधिहरु अवलम्बन गरिनुपर्ने उल्लेख गरेकी छन् । “मुख्यगरी कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्ने हो, सामाजिक रूपमा दूरी बढाउने वा तिरस्कृत गर्नेभन्दा पनि सामाजिक सद्भाव बढाउन आवश्यक ठान्दछु”, उपसभामुख तामाङले भनेकी छन् ।

उपसभामुख तामाङ र उहाँको छोरालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरु विगत १४ दिनदेखि हेटौँडास्थित निवासमा आइसोलेसनमा थिए ।


प्रतिक्रिया दिनुहोस्