नेपालमा कागती खेतीको महत्व र उपयोगिता

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


प्रकृति चन्द

हामी सबैमाझ कागती र यसको उपयोगिता तथा लोकप्रियता अवगत नै छ । विशेषगरी पछिल्लो समयमा विश्वव्यापीरुपमा कोरोना भाइरसका कारण हामी जनमानसमा प्रायःजसो दिनहुुँ यसलाई उपभोग गरिरहेका छौं ।

कागतीको खेती गर्न पनि उत्तिकै सजिलो छ । घरबारी तथा करेसाबारीमा पनि यसको खेती सजिलै गर्न सकिन्छ । अरुको जस्तो झन्झटिलो तथा अत्यधिक समय खर्चिन पनि नपर्ने भएकाले यसको खेती सामान्य ज्ञान भएका व्यक्तिहरुले पनि सहजतापूर्वक गर्न सकिन्छ ।

यसको विशेषता के हो भने यसले बाह्रैमास फल दिने गर्दछ । तर, बिडम्बना ! ९० प्रतिशत कागती बाहिरबाट नै आयात हुने गरेको छ । ट्रेड एन्ड एक्स्पोर्ट प्रमोशन सेन्टर (टीइपीसी) का अनुसार करोडौंको कागती भारतबाट आयात हुने गरेको छ । लगभग ७० लाख केजी बराबरको कागती आजभन्दा दुई वर्ष पहिले पनि आयात हुने गरेको थियो । अहिले पनि हामीले करोडौंको कागती बाहिरबाट नै गरिरहेका छौं । तसर्थ यसको उत्पादन स्वदेशमै व्यवसायिक रुपमा गर्न सकियो भने हामीले यहीँ नै यसको माग पूर्ति गर्न सक्छौं ।

अहिले प्रतिगोटा कागतीको मूल्य २० रुपैयाँसम्म पर्छ । हामी धेरैले यति मूल्यमा पनि कागती किनिरहेकै छौं । दैनिक हामीले यसको उपयोग गरिरहेकै छौं । यसले के देखाउँछ भने यसको उत्पादन व्यवसायिकरुपमा गर्न पनि हामी हिच्किचाउनु हुँदैन । यसको माग दिनहुँ खानुपर्ने तरकारी भन्दा कम पक्कै पनि छैन । यसको महत्व पनि सोचेभन्दा धेरै नै छ ।

विशेषगरी अहिले कोरोनाको महामारीका कारण यसको महत्व झन बढेको छ । शरीरमा जलयोजन मात्रा कायम राख्न, भिटामिन ‘सि’ जसबाट मुटु तथा रक्तचाप व्यवस्थापन गर्न, मोटोपन घटाउन, छालाको सुन्दरता बढाउन, पाचन प्रणाली बलियो पार्न, जीवकोश सेलहरु नष्ट गर्न, पत्थरी जस्तो रोगबाट बचाउन तथा शरीरको प्रतिरोधात्मक शक्ति आर्जनका लागि पनि यसको विशेष महत्व रहेको छ । अझ अहिलेको समयमा कागतीको प्रयोगले शरीरमा कम अम्लिएपन अथवा यसले पि.एच. बढाउने गर्दछ । यसो हुँदा शरीरमा कोरोना भाइरसको लागि उपयुक्त मानिने वातावरण कम हुने गर्दछ । तर, जैविकरुपमा भने यस्तो हुन नसक्ने भनेर माइकल डब्लु इस्मिथबाट आएको छ किनभने अम्लिएपनको सन्तुलन कुनै फलले गर्न सक्दैन । यद्यपि, कागती धेरै गुणले भरिपूर्ण फल हो जसले मानिसलाई स्वस्थ रहन मद्दत गर्दछ ।

नेपालमा प्रायःजसो लगाइने व्यवसायिक जात बनारसी कागती र सुन कागती हो । बनारसी कागती बोटको तलतिर फल्ने गर्दछ । सुन कागतीको दाना भने टुप्पोमा फल्ने गर्दछ । तसर्थ बनारसी कागती असिना पर्ने ठाउँमा लगाउन उपयुक्त हुने गर्दछ । बनारसी कागतीको आकार लाम्चो हुन्छ र तलतिर लाग्दछ । गोलो आकारको चाहिँ त्यसभन्दा माथितिर फल्ने गर्दछ ।

यसलाई प्रायःजसो जेठदेखि असारसम्म लगाइन्छ । यो कागती रोप्दा २० देखि २५ डिग्री सेल्सियस तापक्रम हुनु पर्दछ । यसको फल फसल गर्दा भने यसको तापक्रम २५ देखि ३० डिग्री सेल्सियस उपयुक्त मानिन्छ । कागतीका लागि अमिलोपन ६.५–७ हुनु पर्दछ । माटोलाई राम्रोसँग जोतेर समतल गरेको हुनु पर्दछ । यसलाई ४ देखि ५ मिटरको दुरीमा लगाउनु पर्दछ र विशेषगरी जमिनको क्षेत्रफलअनुसार १२ देखि १५ फिटको दुरीमा लगाउनु उपयुक्त हुन्छ ।

कागती तराई तथा पहाडी छेत्रमा लगाइने गरिन्छ । इन्टरक्रपिङका लागि सिमी तथ बोडी लगाउने गरिन्छ । १० केजी फार्म यार्ड म्यानुर र ५०० ग्राम सिङल सुपरफोस्फट खनाइएको खाल्डोमा लगाउनु पर्दछ । खाल्डो भने ६०८६०८६० सेन्टिमिटरमा खन्नु पर्छ । बोट लगाएको एक बर्षमै फल दिने प्रजाति कागती हो । एक बर्षमै यो साढे तीन फिटसम्मको हुन्छ । एकबर्षमा यसमा तीनदेखि चारपटक फूल लाग्ने गर्दछ भने एकदेखि डेढ वर्षको विरुवामा कम्तिमा पनि १५००–२००० सम्म दाना पाउन सकिन्छ ।

यसमा पानी पनि अरुको जस्तो धेरै दिइराख्नु पर्दैन । सिंचाईका लागि महिनामा एकदेखि दुईपटकसम्म दिए पुग्छ । सिंचाई फल तथा राम्रो विकासका लागि महत्वपूर्ण छ । झार नियन्त्रणका लागि भने हातले झार उखेल्न सकिन्छ । ग्लाइफोसेट १.६ लिटर प्रत्येक १५० लिटर पानीमा प्रयोग गर्न सकिन्छ । तर, यो भने कदापि विरुवामा पार्नु हुन्न र केवल झारमा मात्र प्रयोग गर्नु पर्दछ ।

यसको एकमात्र महत्वपूर्ण प्रक्रिया भनेको काटछाँट हो । काटछाँट गर्ने क्रममा डालाहरु जमिनबाट ५०–६० सेन्टिमिटरको उचाइमा काट्ने गर्नु पर्दछ । बोटको बीच भाग भने खुल्ला राख्नु पर्छ । विशेषगरी बोट लगाएको दोस्रो बर्षमा एकदम सजगतापूर्वक काटछाँट गर्नु पर्दछ । यसका लागि बाँस तथा डोरीको प्रयोग गर्ने गरिन्छ । यो हुँदा झुम्मिएका डालाहरु थाम्ने गर्दछ । यदि यो गरिएन भने लतरिने समस्या आइपर्न सक्छ । हामीले काटछाँट राम्रोसँग गर्यौं भने फल धेरै लाग्ने गर्दछ । दाना धेरै नै लाग्ने हुनाले यसको काटछाँट जरुरी छ । मलजलका लागि हरेक ६ महिनामा ट्राइकोडेर्मा र सिउडोमोनस मिसाएर फेदमा हाल्नुपर्दछ ।

बर्षमा दुईपटक बोटमा चुना र निलोतुथो छर्किने गर्नु पनि उपयुक्त हुन्छ । हामीले नर्सरी ब्याडबाट विरुवा किन्दा डाला काटेको र काटछाँट गरेको मात्र किन्नु पर्दछ । यसले गर्दा पछि बोटा लगाउँदा फल धेरै नै लाग्ने गर्दछ । काटछाँट नगरेको विरुवामा फल तह लाग्ने गर्छ तर काटछाँट गरेको जत्तिको धेरै फल लाग्दैन । यसमा धेरै रोग पनि लाग्दैन । त्यही ढुसी लाग्न सक्छ अनि पात सुक्ने हुन सक्दछ । सानो बिरुवामा भने पात खाने किरा देखा पर्न सक्छ । यो नियन्त्रण गर्नका लागि चुना छर्किनु पर्दछ । त्राइचोडेर्मा र सिउडोमोनस मिसाएर जराको फेदमा लगाउनु पर्दछ । गबारा किराको समस्या देखिने भएकाले ग्लाइटेक्स तथा खोप लगाउनु पर्दछ । नत्रभने यस किराका कारण डालाहरु सुक्दै जाने हुन्छ ।

कागतीको फसल भने यसको आकार, रङ हेरेर गरिन्छ । फसल गर्ने उपयुक्त समय भनेको यसको टिएसएस र अम्लिएपनको अनुपात १२ः१ हुनुपर्छ । फसल गरेको फललाई सफा पानीले सफा गरेर क्लोरिनाटेड पानी लगभाग अढाइ एमएल हरेक लिटर पानीमा डुबाउनु पर्छ । त्यसपश्चात त्यसलाई हल्का सुकाउनु पर्छ । राम्रो गुणस्तरका लागि भने मैनले कोटिङ गरेको उपयुक्त मानिन्छ ।

यी फललाई पछि छायाँमा सुकेको हालमा अनि बल्ल प्याकिङ गरिन्छ । राम्रोसँग उत्पादन गर्न सकियो भने लाखौंको आम्दानी छोटो समयमा नै हुनसक्छ । हरेक बोटबाट कम्तिमा पनि १५०० कागती फल्ने गर्दछ र बजारमा एउटै कागतीलाई २० रुपैयाँसम्म बेची राखिएको छ । वर्षमा ४ पटकसम्म फल लाग्ने हुनाले हामीले राम्रो आम्दानी सजिलैसँग गर्न सक्छौं । यसका साथै हामीले बिरुवालाई कलमी गरेर, ग्राफ्ट गरेर ८० देखि २०० वा २५० रुपैयाँमा बेच्न सक्छौ ।

यसको माग अत्यधिक भइरहेको तर व्यवसायिक खेती भने कम नै रहेकाले हामीले यस बालीलाई व्यवसायिकरुपमा खेती गर्न सक्यौं भने लाखौको आम्दानी निश्चित नै छ । बाहिरबाट हुने आयात रोक्न हामी आफैले प्रशस्त उत्पादन गरेर करोडौंको आम्दानी आफ्नै देशमा सिर्जना गरेर देशको अर्थतन्त्र बढाउन पनि सजिलैसँग सक्ने छौ । तसर्थ अन्य देशको आयातलाई रोक्न र यहाँको माग यहींको उत्पादनबाट परिपूर्ति गर्नलाई कागती खेतीलाई व्यवसायीकरण गर्न जरुरी छ ।

(चन्द बीएससी एग्रीकल्चर, हिकाष्ट सातौं सेमिस्टरमा अध्ययनरत हुनुहुन्छ ।)


प्रतिक्रिया दिनुहोस्