स्वास्थ्यकर्मीलाई दुर्व्यवहार कि सम्मान र माया ?

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


स्वास्थ्यकर्मी र त्यसमा पनि डाक्टर तथा नर्सहरुको पहिचान भन्नु नै लामो, सफा, सेतो कोट हो । अरु बेला खास ध्यान नदिए पनि आफै बिरामी भएर डाक्टर भेट्न जानु पर्दा, अस्पतालमा कैयौं दिन बिताउनु पर्दा हामीले जीवन रक्षकसँग कुरा गरिरहेको महसुस हुन्छ । उनीहरुले सोधेका हरेक प्रश्नको उत्तर दिइरहेका हुन्छौं ।

अस्पताल एउटा यस्तो स्थान हो जहाँ कोही जान चाहँदैनन् तर नचाहँदा नचाहँदै पनि विरामी भएपछि जीवनमा पटकपटक त्यहाँ जानैपर्छ, आफ्नै कारणले होस वा अरुलाई सहयोग गर्न ।

सेतोकोट लगाएको व्यक्ति बिरामी नजिक आउँदा हामीलाई आड र भरोसा हुन्छ । सेतो रंग शान्तिको प्रतिकको रुपमा लिइन्छ साथै इमानदारी र पवित्र सम्बन्धलाई समेत मान्ने गरिन्छ । के गर्दा चाँडै सञ्चो हुन्छ होला भनेर छलफल गरिरहेका हुन्छौं ।

उचित उपचारले हामी स्वस्थ भएर घर फर्कन्छौं र नियमित काममा लाग्छौं । यो जीवन प्रक्रिया नै हो ।

संक्रमितको उपचारमा खटेका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा आक्रमणका घटना हुनु अमानवीय र आपराधिक गतिविधि हुन् ।

चिकित्सा पेशामा इमानदारी र स्वच्छता निकै महत्वपूर्ण हुन्छ ।

नेपालमा पछिल्लो समयमा कोरोना विरुद्धको लडाईमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मी र सवारी चालकहरू दिनहुँ शंकास्पद संक्रमितको सम्पर्कमा आउनुपर्ने भएकाले बढी जोखिममा परेका हुन् । अझ संक्रमितको उपचारमा खटेका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा आक्रमणका घटना हुनु अमानवीय र आपराधिक गतिविधि हुन् ।

सेतो कोट, स्वास्थ्यकर्मी र जोखिमपूर्ण काम

हरेक व्यक्तिले आफ्नो जीवनमा आफ्नो रूचि र क्षमताका आधारमा केही न केही बन्ने लक्ष्य लिएको हुन्छ । लक्ष्यमा कसैले सफलता हासिल गर्छन् भने कसैले आफ्नो लक्ष्य परिवर्तन गर्छन् । यो आजको वास्तविकता हो ।

हरेक पेशाको आ-आफ्नो महत्व हुन्छ र नेपालमा स्वास्थ्यकर्मीहरुको पेशा तुलनात्मक रुपले सम्मानित पेशा हो । तर यो पेशालाई कहिले देवत्वकरण गरिन्छ त कहिले दानवीकरण । यी दुबै अतिवादबाट हामी मुक्त हुनै पर्छ ।

नेपाली समाजमा डाक्टर बन्ने इच्छा र चाहना व्यक्तिभन्दा समाजले पहिले गर्छ । विद्यालयमा राम्रो नम्बर आयो भने भनिन्छ, ‘यो विद्यार्थी त जेहन्दार छ । पक्कै डाक्टर बन्छ होला ।’

स्कुले समयमा कसैले भविष्यमा के हुने इच्छा छ भनेर सोधेमा धेरैजसो विद्यार्थीले दिने उत्तर हुन्छ, ‘डाक्टर, इन्जिनियर, पाइलट ।’ किसान बन्छु वा समाज विज्ञान पढ्छु भन्ने व्यक्ति कोही पनि हुँदैन ।

बाबुआमा र मान्यजनले दशैंमा टीका लगाई दिँदा ‘धेरै पढ्नू, डाक्टर हुनू जस्ता आशीर्वाद दिने चलन अहिले पनि छ । यसरी हाम्रो समाजले डाक्टरलाई अन्य पेशाभन्दा बढी मानसम्मान दिएको छ र उनीहरुको अन्य पेशाकर्मीको तुलनामा आर्थिक अवस्था पनि राम्रो हुन्छ । हामीले डाक्टर तथा अन्य स्वास्थ्यकर्मीको पेशागत काममा यति ठूलो जोखिम कहिल्यै देखेका थिएनौं ।

विरामीको लागि अहोरात्र खट्ने स्वास्थ्यकर्मी बस्ने ठाउँमा अवरोध गर्ने, दुःख दिने, हेला गर्नुले हाम्रो समाजको वास्तविक चेतना उजागर गर्छ

हाम्रा अस्पतालमा क्षमताभन्दा बढी कोरोनाका बिरामी हुँदैछन् । यो असामान्य स्थिति हो । हामीले यस किसिमको त्रास इतिहासमा पहिलोपटक अनुभव गर्दैछौं ।

यस्तो कठिन घडीमा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीलाई हातपात, गालीगलौज र दुर्व्यवहार गरिएको सुन्दा हाम्रो समाज कति सम्वेदनहीन हुँदैछ भन्ने टड्कारो प्रश्न खडा भएको छ ।

विरामीको लागि अहोरात्र खट्ने स्वास्थ्यकर्मी बस्ने ठाउँमा अवरोध गर्ने, दुःख दिने, हेला गर्नुले हाम्रो समाजको वास्तविक चेतना उजागर गर्छ । यो अवस्थामा कोरोना भएको मान्छेलाई माया गर्ने, हौसला दिने, सक्दो सहयोग गर्ने र तथा स्वास्थ्यकर्मीलाई सम्मान र हौसला दिनुपर्ने हो र सामूहिक प्रयासले कोरोनालाई जित्ने हो ।

थप तयारी गर्नु छ

कोरोनासँग बच्न व्यवस्थित क्वारेन्टाइन बनाई विदेशमा अलपत्र बसेका हजारौँ नेपाली नागरिकलाई आफ्नो देश र सरकार भएको महसुस गराउनु राज्यको दायित्व हो ।

व्यवस्थापनका लागि कुन निकायले के काम गर्ने भनेर यथेष्ट गृहकार्य गर्न जरुरी छ । खासगरी स्वास्थ्य, गृह र अर्थ मन्त्रालय, प्रदेश तथा स्थानीय सरकारको आपसी समन्वयको महत्वपूर्ण भूमिका हुन्छ ।

भारतमा संक्रमितको संख्या झण्डै ३० लाख भइसकेको अवस्थामा सीमानाकाहरूमा हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेसन तथा सुरक्षा व्यवस्थाका लागि थप श्रोतसाधन पहिचान र व्यवस्थापन गर्न आवश्यक छ ।

अस्पतालमा काम गर्ने हरेक स्वास्थ्यकर्मीको मनोबल उच्च हुनु जरुरी छ । बिरामीको उचित उपचार गर्ने हो भने पहिले स्वास्थ्यकर्मी र अस्पताललाई सुरक्षित बनाउनु पर्छ ।

नियमितभन्दा लामो समय ड्युटी गरेर अहोरात्र काममा खटिएका महामारीसँग लडिरहेका स्वास्थ्यकर्मीलाई सतर्कताको नाममा घरबाट निकाल्ने, विभिन्न दबाब दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने गतिविधि क्षम्य हुन सक्दैनन् ।

तिनै स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनको सेवासुविधाको बिषयलाई लिएर औंला उठाइन्छ जसमा उनीहरुको निर्णायक जिम्मेवारी हुँदैन । त्यहाँ बस्नेहरुका आफन्तले स्वास्थ्यकर्मीहरुमाथि नै रिस पोख्छन् । यस्तो परिस्थितिमा स्वास्थ्यकर्मीलाई काम गर्न सहज हुँदैन । उनीहरुको मनोबल उच्च हुँदैन ।

यो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल घटाउने काम नगर्न सबैलाई आग्रह गर्न जरुरी छ । कोरोना नै नलागे पनि बिरामी पर्दा आउने अस्पताल नै हो र उपचार गर्ने उनीहरु नै हुन् । यदि स्वास्थ्यकर्मीहरुले आफूले नै असुरक्षित ठानी उपचारमा संलग्न भएनन् भने त्यसको परिणाम के होला ?

स्वास्थ्यकर्मी सङ्क्रमित भए भने धेरैजना सङ्क्रमित हुन्छन् भन्ने कुरा सबैले बुझ्नु जरुरी छ

परिपक्व अभिभावकको खाँचो

यतिबेला नै हो सरकारले परिपक्व अभिभावकत्व निर्वाह गर्नुपर्ने र नागरिकले सरकारले गरेको निर्णय मान्ने । के हामी सही बाटोमा छौं ?

स्वास्थ्यकर्मी सङ्क्रमित भए भने धेरैजना सङ्क्रमित हुन्छन् भन्ने कुरा सबैले बुझ्नु जरुरी छ । सरकारले पनि त्यसलाई मनन गरेर व्यवस्थापन गर्नुपर्छ ।

चिकित्सकको मनोबल बढाउन पनि उचित बसोबासका लागि विशेष व्यवस्था हुनु पर्छ । कोरोना संक्रमित बिरामीको उपचार तथा परीक्षणमा खटिने सबै स्वास्थ्यकर्मीहरूलाई व्यक्तिगत सुरक्षा उपकरण उपलब्ध गराउँदै सबैको नियमित स्वास्थ्य परीक्षण गर्ने र समुदाय तथा परिवारका सदस्यहरू भयभीत नहुन आग्रह गर्नुपर्छ ।

स्वास्थ्यकर्मीको मनोबल घटाउने काम नगर्न सबैले आग्रह गर्नुपर्छ । जोखिमयुक्त क्षेत्रमा खटिने स्वास्थ्यकर्मी र सहयोगीहरुलाई सुरक्षित बनाउनेतर्फ सम्बन्धित सबैले बेलैमा ध्यान दिनुपर्छ ।

संक्रमणको उच्च जोखिममा जीवन हत्केलामा राखेर उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई समाजले हौसला प्रदान गर्ने परिपक्व अभिभावक सरकार हो र यसतर्फ राज्य संयन्त्रमा बसेकाहरुले समयमै ध्यान दिनु पर्छ ।

सरकारले सही आलोचनालाई सकारात्मकरुपमा लिई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन ढिलो भइसकेको छ ।

सम्मान गर्नुपर्ने स्वास्थ्यकर्मीलाई हातपात, तिरस्कार, अपमान गर्दा उनीहरुले पनि बिरामीमा भएको रोग आफूमा पनि सङ्क्रमण हुन्छ भन्दै उपचार नगरे के अवस्था हुन्छ ? बेलैमा सचेत हुनु जरुरी छ ।

अन्त्यमा,
अहिले विश्व कोरोनाले त्रसित छ । मास्क, साबुनपानी, स्यानीटाइजर घरभित्रको उदेकलाग्दो बन्द जीवन हाम्रा दैनिकी भएका छन् ।

विद्यार्थीहरु पढ्न जान पाएका छैनन् । हवाई तथा सडक यातायात न्युन रुपमा मात्र चलेका छन् । अधिकांश उद्योग तथा कल कारखाना बन्द छन् । कतिपय व्यक्तिका रोजगारी गुमेर परिवारलाई आर्थिक समस्या परेको छ र कतिपयलाई डर, त्रास, भयले गर्दा मनोवैज्ञानिक असर परेको छ ।

यो समय कतिसम्मका लागि हो ? हामी कसैलाई थाहा छैन र यस्तो असामान्य परिस्थितिमा कोरोनाबाट बच्न संघर्ष गरिरहेका छौं । तत्काल खोप उपलब्ध हुने सम्भावना छैन र कोरोना भाइरस फैलिन नदिन र त्यसको नियन्त्रणमा सबै मिलेर काम गर्नुको विकल्प छैन । यसका लागि सबै तह र तप्काका महत्वपूर्ण भूमिका हुन्छ ।

शहरका सुकिलामुकिला, पढेलेखेका, सम्पन्न व्यक्तिहरुले कोभिड– १९ महामारीमा दिनरात अस्पतालमा खटेका स्वास्थ्यकर्मीमाथि गरेको दुर्व्यवहार र उनीहरुलाई सुरक्षित ठाउँमा समेत बस्न अबरोध गर्नुले हाम्रो समाज कतिसम्म अविवेकी र गैरजिम्मेवार हुँदैछ भन्ने प्रमाणित गर्छ

विरामी हुँदा हामीलाई हेरविचार गर्ने स्वास्थ्यकर्मी नै हुन् । तपाई हामी जोकोही पनि कैयौँ दिनसम्म अस्पतालमा बस्नुपर्ने अवस्था आउन सक्छ । यस्तो संवेदनशील समयमा कसैले पनि स्वास्थ्यकर्मीको मनोबल खस्किने काम गर्नुहुँदैन ।

स्वास्थ्यकर्मीको लागि सुरक्षासम्बन्धी सामग्री उपलब्ध गराएर, सही सूचना दिएर, स्वास्थ्यकर्मी तथा बिरामी र उनीहरुको परिवारको मनोबल उच्च बनाउन सके मात्र कोरोना नियन्त्रण अभियान प्रभावकारी हुन्छ ।

संघीय संसद भवनको ठिक अगाडि, शहरका सुकिलामुकिला, पढेलेखेका, सम्पन्न व्यक्तिहरुले कोभिड– १९ महामारीमा दिनरात अस्पतालमा खटेका स्वास्थ्यकर्मीमाथि गरेको दुर्व्यवहार र उनीहरुलाई सुरक्षित ठाउँमा समेत बस्न अबरोध गर्नुले हाम्रो समाज कतिसम्म अविवेकी र गैरजिम्मेवार हुँदैछ भन्ने प्रमाणित गर्छ । यस्ता अलोकतान्त्रिक र आपराधिक गतिविधिलाई निरुत्साहित गर्नैपर्छ ।

हाम्रो जस्तै स्वास्थ्यकर्मीको पनि परिवार छ र उनीहरुलाई पनि सुरक्षित भएर घरपरिवारमा बस्न मन लाग्दो हो । अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी अरुको उपचारमा समर्पित हुँदा सबैभन्दा बढी संक्रमित हुने सम्भावना हुन्छ । उनीहरुलाई सहयोग र सम्मान गर्नुको सट्टा दुर्व्यवहार, हतोत्साह र लाञ्छना लगाउने हर्कत गर्नु अक्षम्य कार्य हो । यस्तो गतिविधि रोक्न हामी सबै बेलैमा सचेत हुनु जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्