रोकिएका विश्वविद्यालयका परीक्षा दसैंअघि नै हुने

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ७ : ०६


काठमाडौं । रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट भए पनि दसैंअघि नै सञ्चालन गर्ने विश्वविद्यालयहरूले जनाएका छन् ।

परम्परागतसहित अनलाइन र अन्य माध्यम प्रयोग गरेर परीक्षा सञ्चालन गर्ने उपकुलपतिहरूले बताएका हुन् ।

कोरोना संक्रमण घट्दै गए अनलाइनसहित अन्य विधिबाट भए पनि परीक्षा सञ्चालन गरिने उनीहरूले जानकारी दिए ।

उपकुलपतिहरूका अनुसार असोजभित्रै वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न गृहकार्य भइरहेको छ ।

राष्ट्रिय युवा परिषद्ले सोमबार गरेको भर्चुअल छलफलमा उपकुलपतिहरूले पठनपाठन र परीक्षालाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न नसके शैक्षिक सत्र नै नाश हुने बताए ।

वैकल्पिक विधिलाई नै मूलधारको शिक्षा बनाउनुपर्ने उनीहरूको जोड थियो ।

सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयले चार मोडलबाट परीक्षा सञ्चालन गर्ने योजना अघि बढाएको उपकुलपति धर्मकान्त बाँस्कोटाले जानकारी दिएका छन ।

अवस्थाअनुसार अनलाइन, आन्तरिक मूल्यांकन, ओपन बुक र परम्परागत विधिबाट परीक्षा सञ्चालन गरिने उनले जनाए ।

वैकल्पिक माध्यमबाटै पठनपाठन र परीक्षालगायत शैक्षिक गतिविधि अघि बढाउन विद्यार्थीलाई क्याम्पस र विभागको सम्पर्कमा आउन त्रिविले सर्कुलर गरेको समाचार कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् ।

त्रिविमा ४ लाख १५ हजार ४ सय ८२ विद्यार्थी अध्ययनरत छन् । उच्च शिक्षामा अध्ययनरत ५ लाख ३८ हजारमध्ये ७७ प्रतिशत विद्यार्थी त्रिविमा पढ्छन् ।

विद्यार्थी संख्या धेरै भएका कारण पनि कोभिडका बेला पठनपाठन र परीक्षा सञ्चालनमा असहज भएको उपकुलपति बाँस्कोटाले गुनासो गरेका छन ।

त्रिविले चैतदेखि अनलाइन कक्षा सञ्चालन गरेको थियो ।

हालसम्म १ लाख ४५ हजार विद्यार्थी, १६ हजार शिक्षक, कर्मचारीलाई इमेल आइडी वितरण गरिएको जनाएको छ ।

४ हजार ५ सय शिक्षकलाई भर्चुअल कक्षासम्बन्धी क्षमता विकास तालिम दिइएको छ ।

काठमाडौं विश्वविद्यालय र खुला विश्वविद्यालयले अनलाइनबाटै पठनपाठन र परीक्षा सञ्चालन गर्दै आएका छन् ।

अन्य विश्वविद्यालयले पनि अनलाइनसहित अन्य विधिबाट परीक्षा लिने तयारी गरिरहेको जनाए । दसैंअघि नै परीक्षा सञ्चालन गर्न सके शैक्षिक सत्रमा क्षति नपुग्ने उनीहरूको भनाइ छ ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले असोज मसान्तसम्म अनलाइन परीक्षा सञ्चालन गरिने जनाए ।

दसैं आउन ५४ दिन मात्रै बाँकी छ । ११ वटै विश्वविद्यालय त्यसअघि नै परीक्षा गर्ने तयारीमा जुटेका छन् ।

मध्यपश्चिम विश्वविद्यालयले पनि अनलाइन परीक्षाको तयारी अघि बढाएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्