उपत्यकामा कोरोना सङ्क्रमण बढपछि अवस्था जटिल हुन सक्ने चेतावनी, निषेधाज्ञा अवधि थपिने

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ६ : ५३


काठमाडौं । हिंजो उपत्यकामा अहिले सम्मकै धेरै कोरोना सङ्क्रमितको सङ्ख्या २२४ पुगेको छ ।

बन्दाबन्दी अघिसम्म काठमाडौंँ उपत्यकामा लगभग शून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही दिनमै दुई सयभन्दा बढीको सङ्ख्यामा बढेको छ ।

सोमबार उपत्यकामा देखिएका मध्ये काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् ।

मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले सरोकार निकाय र नागरिक तहमा उच्च सतर्कता आवश्यक भएको बताए ।

उनले यही अवस्थामा सङ्क्रमितको सङ्ख्या बढ्दै गए समुदायमा फैलने र उपचारमा समेत कठिन हुने बताएको समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

यता उपत्यका नगरपालिका फोरमको सोमबार बसेको उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख र उपप्रमुख सहितको बैठकले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ ।

उपत्यकामा सङ्क्रमितको सम्पर्कमा रहेका २८ हजार पाँच सय जनाको पीसीआर निषेधाज्ञाको अवधिभित्रै परीक्षण गर्ने निर्णय भएको फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।

काठमाडौँ महानगरपालिकामा १५ हजार, ललितपुर महानगरमा दुई हजार र बाँकी अन्य १६ वटा नगरपालिकामा कोरोना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पीसीआर गर्ने योजना फोरमले बनाएको छ ।

फोरमले उपत्यकाका सबै नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस अघिको बैठकले भदौ ९ गतेसम्म उपत्यकाका नगरपालिकाको सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

फोरमले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अवधि पुनः थप गर्न आग्रह समेत गरेको छ ।

भारत बाहेकका अन्य मुलुकबाट नेपाल फर्कने नागरिकलाई तीनै तहको समन्वयमा क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार एकीकृत क्वारेन्टाइन सङ्घीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापन गर्नुपर्नेमा फोरमले जोड दिएको छ ।


प्रतिक्रिया दिनुहोस्