नेपालका कोरोना संक्रमित बिरामीमा अमेरिकी कम्पनीको खोप परीक्षण गरिँदै

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ५ : ००


काठमाडौं । नेपालमा पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण शुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल स्वास्थ्य अनुसन्धाान परिषदले तोकेको मापदण्डका आधारमा नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षण शुरु गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना विरुद्धको खोपको परीक्षण शुरु गरिएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार विश्वका अन्य देशमा पनि क्लिनिकल ट्रायलको रुपमा रहेको ‘रेम्डिसिभिर’ नामक खोपको परीक्षण पनि नेपालमा शुरु गरिएको हो ।

अमेरिकन गिलियड नामक कम्पनी उत्पादक रहेको उक्त औषधिको परीक्षणका लागि अमेरिकाको नियामक निकाय फुड एण्ड ड्रग एडमिनेस्ट्रशनले अनुमति दिइसकेको छ ।

जसअनुसार नेपालमा पनि स्वास्थ्य अनुसन्धान परिषदले तोकेको गाइडलाइनअनुसार उक्त खोपको परीक्षण शुरु गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

नेपालमा कोरोनाविरुद्धको खोपको ट्रायल गर्न नहुने भनेर विरोधका स्वरहरु उठेको भन्दै प्रवक्ता गौतमले विरोध नगर्न पनि अनुरोध गरे ।

‘नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन ट्रायल प्रयोग गरिएको छ । ट्रायल गर्न नहुने भन्ने स्वरहरु पनि उठिरहेका छन्,’ गौतमले भने, ‘नेपाल स्वास्थय अनुसन्धाान परिषदको गाइडलाइनअनुसार, विश्वव्यापी मान्यताका आधारमा स्वतःस्फुर्त रुपमा सहभागी हुनेहरुमा मात्रै खोपको परीक्षण गरिएको हुनाले भ्रम नछर्नु हुन अनुरोध गर्दछु ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसार यस्तो प्रयोग नेपाल सरकारले तोकेका कोभिड अस्पतालहरुमा भइरहेको छ । सरकारले कोरोना भाइरसका संक्रमित बिरामीहरुलाई दिँदै आएको सुविधाअन्तर्गत पर्ने गरी अध्ययन/अनुसन्धानको लागि औषधिको प्रयोग थालिएको हो ।

तर, उक्त औषधि चिकित्सकहरुले आफूखुसी भने प्रयोग गर्न नपाउने परिषदले जनाएको । कुन बिरामीमा, कसरी खोपको प्रयोग गर्ने भनेर स्पष्ट मापदण्ड तयार पारिएको परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीले जनाएका छन् ।

परिषदका अनुसार अन्य ३ वटा देशका कम्पनीले उत्पादन गरेका खोपहरुको समेत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

चीन, रसिया र संयुक्त अधिराज्य (युके)को अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको खोपको नेपालमा पनि थर्ड फेज (तेस्रो चरण)को परीक्षण गर्न कम्पनीहरु इच्छुक रहेकाले त्यसको प्रक्रिया अगाडि बढाइएको परिषदले जनाएको छ ।

परिषदले अनुसन्धानमा सहभागी हुन बिरामीको पूर्व सहमति फाराम भरे पश्चात अनुसन्धान मापदण्ड तथा नीति नियम अनुसार मात्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन अस्पताल तथा चिकित्सकहरुलाई अग्राह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्