गाउँपालिकाले भन्यो– गृहमन्त्रीको टोलीले धान खेत फाँडेको हैन, कुप्रचार नगरियोस्

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ३ : ३८


काठमाडौं । बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि अछाम पुगेको गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको टोलीले धानको खेत फाँडेर कार्याक्रम आयोजना गरेको भन्दै भइरहेको प्रचारप्रति स्थानीय गाउँपालिकाले आपत्ति जनाएको छ ।

भदौ २ गते (मंगलबार)को बाढीले अछामको रामारोशन गाउँपालिका–५ सैनिबजार क्षेत्रमा गएको बाढीले पु¥याएको क्षतिबारे स्थलगत अनुगमन गर्न गृहमन्त्री बादलसहितको टोलीले घटनास्थलमा कार्यक्रम आयोजना गर्न धानबाली फाँडिएको भन्दै भइरहेको प्रचारप्रति गाउँपालिकाले आपत्ति जनाएको हो ।

रामरोशन गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउँदले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै गृहमन्त्री थापासहित नेपाल सरकारको तर्फबाट बाढीपीडितलाई सान्त्वना दिनका लागि बाढीले बगाएर बगर बनाएको क्षेत्रमा कार्यक्रम आयोजना गरिएको बताएका छन् । धान बाली फाँँडेर कार्यक्रम आयोजना गरिएको भनेर गलत प्रचार गरिएको अध्यक्ष साउँदको भनाइ छ ।

‘विनाशकारी बाढीले १७ जना मानिस, सयौं पशु चौपाया, एउटा सिंगो बजार, घरहरु, सडक, पुल, बिजुली, खेतीयोग्य जमिन बगाएर तहसनहस बनाएको अवस्थामा पीडितहरुसँग नआत्तिनुहोस्, राहात, पुनर्निमाण तथा पुनर्स्थापनाको लागि नेपाल सरकार तपाईंहरुसँग छ भनेर सान्त्वना दिने कुरालााई लिएर धानखेत मासेर कार्यक्रम गरेको भनेर केही शहर केन्द्रित मिडिया र मान्छेहरुले टिप्पणी गरेको सम्बन्धमा घटनास्थलकै स्थानीय तह र स्वयं प्रत्यक्षदर्शी र पीडित गाउँपालिकाको हैसियतले भ्रमहरु स्पष्ट पार्न यो विज्ञप्ती जारी गरिएको हो,’ गाउँपालिका अध्यक्ष साउँदले विज्ञप्तीमा भनेका छन्, ‘स्थलगत अवलोकन पश्चात पीडितहरुसँग दुई–चार सान्त्वनाका शब्दहरु राखिनु उचित हुने भएकाले बाढीले बगाएको क्षेत्रमा अनौपचाािरक रुपमा माननीयज्युहरुले कुरा रााख्ने काम भएको स्पष्ट पार्न चाहन्छौं ।’

अध्यक्ष साउँदले केही सञ्चारमाध्यममा प्रकाशित समाचारमा समावेश फोटोमा देखिएको धान कार्यक्रमका लागि भाँचिएको धान नभइ बाढीले बालुवासहित बगाएर भाँचिएको धान भएको पनि बताएका छन् ।

बाढीपीडित स्थानीय बासिन्दा तथा स्थानीय जनप्रतिनिधिको सल्लाह पश्चात सोही क्षेत्रमा कार्यक्रम आयोजना गर्ने तय भएको पनि अध्यक्ष साउँदले जानकारी दिएका छन् । कार्यक्रम आयोजना गर्ने कुरामा खेतका मालिक पठानसिंह साउँदको समेत सहमति भएको पनि अध्यक्ष साउँदले जनाएका छन् ।

भदौ २ गतेका विनाशकारी बाढीले बगाएको क्षेत्रको अवलोकन गर्न गृहमन्त्री थापासहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, पूर्वउपप्रधान मन्त्री एवम् प्रतिनिधिसभा सदस्य भीम रावल, राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर र तारामान स्वाँर लगायतको टोली अछाम पुगेको थियो ।

स्थलगत अवलोकनका लागि पुगेको टोलीले धानखेत मासेर कार्यक्रम गरेको भन्दै अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्