काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वउपप्रधान एवं रक्षामन्त्री भीम रावललगायत नेकपाका नेता धान खेतमा बनाइएको मञ्चमा भाषण गरिरहेको एउटा तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
विशेषत गृहमन्त्री रामबहादुर थापाले भाषण गरिरहेको तस्वीरमा धेरैले प्रतिक्रिया जनाएका छन् ।
बाढीले धानखेत बगाएर पीडित बनेका कृषकलाई सरकारी टोलीले थप पीडा दिएको भन्दै नेता तथा मन्त्रीहरुको आलोचना भएको हो ।
कम्युनिष्ट सरकार श्रमजिवी, श्रमिक र सर्वहाराको हुनुपर्नेमा श्रमजिवीको खेतमा पाक्न लागेको धान नै सखाप पारेर मञ्च बनाएर भाषण नगरि नुहने किन रहेछ भन्दै सामाजिक सञ्जालमा चर्चा चलेको हो ।
कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले चिनियाँ राष्ट्रपति सि जिनपिङ ले कृषकका खेतबारीमा पुगेर अवलोकन गरेको, हिलो खेतमा गएको र भाषण नगरि फर्किएको भन्दै नेकपाका नेताले चिनियाँ कम्युनिस्ट पार्टीबाट किन केही पनि सिक्न नसकेको होला भन्दै आलोचना गरेका छन३ ।
नेकपाका कार्यकर्ताहरुले भने धान नभएको स्थानमा कार्यक्रमको आयोजना गरिएको भन्दै बचाउन गर्न खोजेका छन् तर सामाजिक सञ्जाल फेसबुक ट्वीटरमा गृहमन्त्री थापासहित अन्य नेताको चर्को आलोचना भइरहेको छ ।
कहाँको हो घटना ?
अछामको रामारोशन गाउँपालिकामा आएको बाढी र त्यसले पु¥याएको मानवीय र भौतिक क्षतिपछि प्रभावित क्षेत्रमा पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले स्थानीयलाई सम्बोधन गर्न धानबारी माडेर कार्यक्रम गरेको पाइएको छ।
बाढी आएको पर्सिपल्ट भदौ ५ गते गृहमन्त्री रामबहादुर थापा, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्व उपप्रधानमन्त्री भीम रावल सहितको टोली हेलिकोप्टरमा प्रभावित क्षेत्रमा पुगेका थिए।
स्थानीय कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका ५ सैनीबजारमा १७ जना बेपत्ता भएका थिए। २५ घर तथा पसल बगेको थियो। बाढी भदौ ३ गते आएको थियो। लहलहाइरहेको धान माडेर गृहमन्त्रीसहितको टोली कार्यक्रममा सहभागी भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ।
कतिपयले कार्यक्रम गर्न ठाउँ नपाएरै धानबाली माड्नुपरेको भन्दै गृहमन्त्रीसहितको टोलीको आलोचना गरेका छन्।