३६ जना पत्रकार तथा सञ्चारकर्मीमा पनि कोरोना भाइरसको संक्रमण

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  १२ : ५१


काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट नेपालमा सञ्चारकर्मीहरु समेत संक्रमित हुने क्रम बढ्दै गएको छ ।

काठमाडौं उपत्यका र उपत्यका बाहिर पनि सञ्चारकर्मीहरु कोरोना भाइरसबाट संक्रमित हुने दर बढ्दै गएको हो ।

नेपाल पत्रकार महासंघका अनुसार देशभर गरी करिब ३६ जना (३ दर्जन) पत्रकार तथा सञ्चारकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

महासंघका महासचिव रमेश विष्टका अअनुसार विशेषगरी फिल्ड (कार्यक्षेत्र)मा खटिने संवाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् ।

महासंघले संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन पनि सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

‘महामारीको यो जटिल परिस्थितिमा पनि नेपाली सञ्चार क्षेत्रले उच्च जोखिम मोलेर समाचार संकलन तथा सम्प्रेषण गरिरहेका छन् । नेपाल पत्रकार महासंघ संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गर्दछ,’ महासचिव विष्टले सोमबार एक विज्ञप्ती जारी गर्दै भनेका छन् ।

महासंघले महामारीको समयमा संक्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न पनि सञ्चारकर्मीहरुमा अपिल गरेको छ ।

सञ्चार प्रतिष्ठानहरूले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोग संगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न पनि महासंघले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्