पहिरोले सल्यानमा तीन घर बगायो, २५ परिवार विस्थापित

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  १२ : ४५


सल्यान । सल्यान जिल्लाको वागचौर नगरपालिका­१२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घर परिवार विस्थापित भएका छन् ।

त्यस्तै ओखरेनी गाउँमा पहिरोको उच्च जोखिममा परेपछि स्थानीयहरु विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन् ।

ओखरेनी गाउँमा तीन घर पहिरोले बगाएको र गाउँभरिमा सयौं स्थानमा पहिरो गएकाले स्थानीयहरु घर छोडेर विद्यालयमा बसेका छन् ।
यही भदौ ३ गते आएको वर्षाले पूरै गाउँमा पहिरो गएको छ ।

अहिले पनि घरभित्रबाटै पानीको मूल फुटेको, घरहरु भासिएको तथा घर वरिपरि पहिरो गएर घर पहिरामा पुरिने अवस्था भएकाले गाउँलेहरु विद्यालयमा बसेको स्थानीय वीरसिंह डाँगीले जानकारी दिए ।

“यस ठाउँमा सय वर्ष पहिले यस्तै खालको पहिरो गएको हो भन्ने सुनेका थियौं, आज आफ्नै आँखाले यस्तो विजोग देख्नुप¥यो”, उनले भने ।

पहिरोले विस्थापित भएको यतिका दिन बित्दा पनि राहत नपाएको उनीहरुको गुनासो छ । “विस्थापित भएर आएकाहरुसँग न त खाने कुरा छ, न लत्ताकपडा नै ल्याउन पाएका छन् । यस्तो अवस्थामा हामी कसरी बस्नु, अहिलेसम्म कतैबाट केही राहत पाएका छैनौं” स्थानीय पदम खत्रीले भने।

वाफुखोलाको ओखरेनीमा पहिरोले ठूलो क्षति भएकाले तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको बागचौर नगरपालिका­१२ का वडाध्यक्ष दिपककुमार वलीले बताए ।

“अहिले वडा कार्यालयमार्फत मुचुल्का तयार गर्ने काम भइरहेको र राहतका लागि पहल गरिनेछ”, उनले भने । बाफुखोलामा रहेका करिब ५५० घरधुरीमध्ये अहिले ५० प्रतिशतभन्दा बढी पहिराको उच्च जोखिममा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्