हामीलाई किन लाग्छ बाडुली, के यो कुनै रोग हो ?

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ११ : ४६


हामीमध्ये धेरैजसोले दैनिक जीवनमा भोगेको एउटा अनुभव होला– बाडुली लाग्नु ।

कहिलेकाँही केही समयका लागि मात्रै बाडुली लाग्ने गर्छ । तर, केही व्यक्तिको हकमा भने बाडुली ठूलै स्वास्थ्य समस्या पनि बन्न सक्छ । १ दिनदेखि १ हप्ता र १ महिनासम्म पनि लगातार बाडुली लाग्ने समस्या देखिन्छ । हाम्रो समाजमा एउटा लोकोक्ति पनि छ कि, कसैले हामीलाई सम्झ्यो भने बाडुली लाग्छ ।

तर, यसको वैज्ञानिक कारण के होला त ? केही अनुसन्धानबाट खानेकुरा राम्ररी नपाउँदा बाडुली लाग्ने निष्कर्ष निकालिएको छ । तर, वैज्ञानिकहरुले पनि यसको वास्तविक कारण भने अहिलेसम्म पनि पत्ता लगाउन सकेका छैनन् ।

वैज्ञानिकहरुले गरेको अनुमानअनुसार शरीरमा हुने डायाफ्राग्म खुम्चिँदा बाडुली लाग्ने गर्छ ।

डायाफ्राग्म नामक मांशपेशीले मानव शरीरको छाती र पेटलाई छुट्याउँछ । यदि यो मांशपेशी अचानक खुम्चियो भने यसले भोकल कर्डलाई साघुँरो बनाउँछ । जसका कारण ‘हिक् हिक्’ आवाज आउने गर्छ ।

कुनै व्यक्तिलाई आकस्मिक रुपमा उत्साह उत्पन्न हुँदा पनि बाडुली लाग्ने गरेको वैज्ञानिकहरुको अनुसन्धानबाट पत्ता लागेको छ ।

के यो कुनै रोग हो ?

चिकित्सकहरुले बाडुली लाग्नुलाई अहिलेसम्म सामान्य नै मानेका छन् । तर, अमेरिकामा प्रत्येक वर्ष चार हजार मानिस बाडुली लागेको लाग्यै गर्ने समस्याका काराण अस्पताल भर्ना हुने गर्छन् ।

जनस्वास्थ्य विदहरु पनि लगातार बाडुली लागिरह्यो भने चिकित्सककहाँ जान सल्लाह दिन्छन् । र, खानपानमा ध्यान राख्यो भने यो समस्या समाधान हुने उनीहरु बताउँछन् ।

धेरै रक्सी तथा कार्बोनेटेड पेय पदार्थ पिउँदा यस्तो समस्या बढी हुने गर्छ । जसलाई धेरै बाडुली लाग्छ ती व्यक्तिले रक्सी तथा कार्बोनेटेड पेय पदार्थ पिउन छाड्नुपर्ने चिकित्सकहरु सल्लाह दिन्छन् ।


प्रतिक्रिया दिनुहोस्