प्रदेश नं १ मा ७० कोरोना सङ्क्रमित थपिए

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ७ : ३३


विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ७० जना कोरोना सङ्क्रमित थपिएका छन्।

आज थपिएकामा २७ महिला र ४३ पुरुष छन्।

मोरङमा ५०, झापामा १०, सुनसरीमा नौ र प्रदेश बाहिरका १ जना कोरोनाबाट सङ्क्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा विराटनगरमा आज ४२ जनामा सङ्क्रमित पुष्टि भएको छ। जसमा १८ महिला र २४ पुरुष छन्।

मोरङको बुढीगंगा चार महिला एक पुरुष, केराबारीमा दुई र स्थानीय तह नखुलेका एक पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार जिल्ला बाहिर झापाको कमल गाउँपालिकामा एक महिला दुई पुरुष, झापा गाउँपालिकामा एक पुरुष, विर्तामोडमा दुई महिला, कनकाईमा एक महिला, गौरादहमा दुई पुरुष र स्थानीय तह नखुलेका एक पुरुष, सुनसरीको इटहरीका एक महिला आठ पुरुष र धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६५९ पुगेको छ ।

प्रदेश नं १ मा आज २५ जना निको भएर घर फर्किएका छन्।

कोभिड–१९ आइसोलेशन केन्द्र रंगेलीबाट २२ र कोभिड १९ आइसोलेशन केन्द्र, चौदण्डीगढी उदयपुरबाट तीन जना डिस्चार्ज भएका हुन्।

हालसम्ममा प्रदेशमा एक हजार २६७ जना कोरोनाबाट मुक्त भएर घर फर्केका छन्।

पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा ८०५ पीसीआर परीक्षण भइ आजसम्म कूल ७७ हजार १५६ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्