दक्षिण कोरियामा फेरि फैलियो संक्रमण, पछिल्लो समयकै धेरै संक्रमित फेला

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ४ : २४


काठमाडौं । कोरोना भाइरस संक्मण नियन्त्रणमा आएको दक्षिण कोरियामा फेरि संक्रमण फैलिएको छ।

अधिकारीहरुका अनुसार आइतबार त्यहाँ पछिल्लो समयकै उच्च संक्रमणका घटना फेला परेका छन्।

पछिल्लो २४ घण्टामा त्यहाँ ३९७ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको हो। यो मार्च महिनायताकै सर्वाधिक दैनिक वृद्धि हो।

नयाँ सङ्क्रमितहरू फेला पर्न नछोडेपछि देशका अरू भागमा पनि प्रतिबन्धात्मक उपायहरू लागु गरिएको हो।

स्वास्थ्य अधिकारीहरूले परिस्थिति अझै बिग्रिन सक्ने चेतावनी दिएका छन्।

अबदेखि देशमा धार्मिक समारोहसहित ठूला भेलाहरू गर्न प्रतिबन्ध लागेको छ।

नाईटक्लब, कारीओकी बार, इन्टर्नेट क्याफे र समुद्री तटहरू पनि बन्द भएका छन्।

पछिल्लो एक सातादेखि दैनिक १०० जनाभन्दा बढी सङ्क्रमितहरू फेला परिरहेका छन्।

तीमध्ये अधिकांश मानिस राजधानी सिओलका हुन्।

अहिलेसम्म दक्षिण कोरियामा १७,३९९ जनामा कोभिड-१९ पुष्टि भएको जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कमा देखिन्छ। तीमध्ये ३०९ जनाको मृत्यु भएको छ।

दक्षिण कोरिया चीनको वुहानपछि विश्वमा पहिलो पटक संक्मणका घटना फेला परेको देश हो। त्यहाँको सरकारले महामारी फैलिएपछि नियन्त्रणमा लिन सफल भएको थियो।

गत अप्रिल महिनामा त्यहाँ निर्वाचन समेत सम्पन्न भएको थियो। तर, पछिल्लो समय संक्रमणका घटना फेरि देखिन थालेका हुन।


प्रतिक्रिया दिनुहोस्