काठमाडौं । बारा, पर्सा र रौतहट जिल्लामा गरी प्रदेश नम्बर २ का थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा ३ सय २० जनाको स्वाब परीक्षण गर्दा १ सय ५६ जनाको नतिजा पोजेटिभ आएको हो ।
संक्रमण देखिएकामध्ये सबैभन्दा बढी पर्सा जिल्लाका छन् । पर्साका १ सय ४२ जनामा संक्रमण देखिएको हो । यस्तै, बारामा ९ र रौतहटमा ५ जना संक्रमित थपिएका हुन् ।
थपिएका संक्रमितमध्ये ५ जना चिकित्सक छन् । ५ जना चिकित्सकमध्ये नेशनल मेडिकल कलेजका ३ जना छन् । यस्तै, वीरगन्जको एउटा एफएमका ५ जना सञ्चारकर्मीमा पनि कोरोना देखिएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा रहेका ९ जनामा पनि संक्रमण देखिएको छ । जीतपुरस्थित नेपाली सेनाको ब्यारेकका २ जना स्टाफ, नेपाल फर्मास्युटिकल्सका ९, हिमाल आइरन स्टिलका ३ जना स्टाफमा पनि कोरोना देखिएको छ ।
यस्तै, सुख्खा बन्दरगाहका २ जना कर्मचारीमा पनि कोरोना देखिएको छ ।
पर्सामा थपिएका संक्रमितमध्ये १६ जना पिप्राका, १० जना छपकैयाका छन् । यस्तै, वीरगन्जको राधेमाई, माईस्थान, रामटोल, श्रीपुर, रेशमकोठी, नगवा, मूर्ली, तेजारथ टोल, गणेश टोल, अपौनी, बसडिल्वा, भिस्वा लगायतका क्षेत्रमा पनि संक्रमित थपिएका छन् ।
यस्तै, पर्साको पर्सागढी नगरपालिकामा ४, बिन्दवासनी गाउँपालिकामा ९ जना संक्रमित थपिएका छन् ।